नेपाली ब्रोद्वारा श्रीमतीको हत्या गरेको स्वीकार, प्रेमिका भनिएकी युवती प्रहरी नियन्त्रणमा
काठमाडौं । एक साताअघि तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरद्वारा पत्नी ईश्वरी भुजेलको हत्या प्रकरणमा पक्राउ परेका थप तीनजनामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनालगत्तै शुक्रबार राति ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिई त्यहाँस्थित प्रहरी वृत्तको हिसातमा राखेको थियो भने भोलिपल्ट थप तीनजना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा नुवाकोट, तारकेश्वर गाउँपालिका- ३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षका विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पूजन थापा र जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चारैजना प्रतिवादीको बयान कागज भइरहेको छ । हालसम्म उनीहरु अनुसन्धानकै क्रममा छन् ।
पक्राउ परेकामध्ये विक्रम ‘नेपाली ब्रो’ का आफ्नै भाइ हुन् भने पूजन र प्रतीक्षा साथी हुन् । मृतक ईश्वरी भुजेलको माइती पक्षले दिएको जाहेरीमा नाम उल्लेख भएका कारण विक्रम, पूजन र प्रतीक्षालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार प्रतीक्षा आचार्यलाई मृतकका माइती पक्षले ‘नेपाली ब्रो’ की प्रेमिका भएको आरोप लगाएका छन् । उक्त दाबी पुष्टि हुने फोटो तथा भिडियो सामग्री पनि सार्वजनिक भएको बताइन्छ । तर प्रतीक्षाले भने आफू केवल टिकटकमार्फत चिनजान भएको साथी मात्र भएको दाबी गर्दै सबै आरोप अस्वीकार गरेकी छन् ।
टिकटक भिडियो बनाउने क्रममा मात्र भेट भएको र अन्य कुनै सम्बन्ध नरहेको उनले बयानमा बताएकी छन् । घटनाबारे पूर्वजानकारी नभएको र आफूलाई अनावश्यक रूपमा जोडिएको उनको भनाइ छ ।
घटनाअघि ‘नेपाली ब्रो’ र प्रतीक्षाबीच कारभित्र टिकटक लाइभसमेत भएको खुलेको छ । सो क्रममा भएको गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद थपिएको थियो ।
यता, पक्राउ परेका पूजन थापाले पनि आफू केवल साथी भएको र घटनामा कुनै संलग्नता नरहेको बताएका छन् । कुमारका भाइ विक्रम थापा मगरले पारिवारिक विवादलाई कानुनी रूपमा समाधान गर्न सुझाव दिएको तर हत्यामा कुनै भूमिका नभएको बयान दिएका छन् ।
प्रहरीले सबै प्रतिवादीमाथि अनुसन्धान जारी राखेको छ । बयानसँगै थप प्रमाण संकलन र कानुनी प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया