नेपाल–भारत–बंगलादेश त्रिपक्षीय सहकार्यले क्षेत्रीय समृद्धिमा नयाँ आयाम थप्न सक्छ : विज्ञ
काठमाडौं । नेपाली ऊर्जा तथा अर्थविद्हरूले दक्षिण एसियाली क्षेत्रको साझा विकास र आर्थिक समृद्धिका लागि नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
ऊर्जा, व्यापार, पर्यटन तथा कनेक्टिभिटीजस्ता रणनीतिक क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार विस्तार, लगानी प्रवर्द्धन तथा आर्थिक एकीकरणलाई बलियो बनाउने उनीहरूको धारणा छ।बंगलादेशमा आयोजित आर्थिक कूटनीति सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएनआईसँग कुरा गर्दै नेपाल फाउन्डेसनका विज्ञ तथा ऊर्जाविद् विवेकराज कँडेलले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहकार्यको आवश्यकता अझ बढ्दै गएको बताए।
“हामी भौगोलिक र आर्थिक रूपमा यस्तो अवस्थामा छौं जहाँ कुनै पनि देश एक्लै अघि बढ्न सक्दैन,” कँडेलले भने, “नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सहकार्यको सम्भावना अत्यन्त बलियो छ। यसका लागि आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर सघन संवाद र समन्वय आवश्यक छ।”
उनले ऊर्जा क्षेत्रलाई त्रिपक्षीय साझेदारीको सबैभन्दा महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे। नेपालमा उत्पादित स्वच्छ जलविद्युत् बंगलादेशको बढ्दो औद्योगिक माग पूरा गर्न उपयोगी हुन सक्ने तथा यस प्रक्रियामा भारतले पारगमन मुलुकका रूपमा लाभ लिन सक्ने उनको भनाइ छ।
“नेपालको स्वच्छ ऊर्जा बंगलादेशका उद्योगहरूका लागि महत्वपूर्ण स्रोत बन्न सक्छ,” उनले भने, “भारतले आफ्नो प्रसारण पूर्वाधारको उपयोगमार्फत आर्थिक लाभ लिन सक्छ। यसले तीनै देशलाई फाइदा पुग्ने अवस्था सिर्जना हुन्छ।”कँडेलले क्षेत्रीय सहकार्यलाई सफल बनाउन राजनीतिक प्रतिबद्धतासँगै स्पष्ट आर्थिक लाभको सुनिश्चितता आवश्यक रहेको बताए। कुनै पनि सहकार्य दीगो बन्न साझा हित र पारस्परिक लाभको आधार बलियो हुनुपर्ने उनको तर्क छ।ऊर्जासँगै पर्यटन, यातायात र कनेक्टिभिटीका क्षेत्रमा पनि सहकार्य विस्तार गर्न सकिने उनले बताए। सीमापार आवागमन, व्यापारिक सम्पर्क र पूर्वाधार विकासलाई प्राथमिकता दिए क्षेत्रीय आर्थिक गतिविधि थप सशक्त बन्ने उनको विश्वास छ।
नेपाल र बंगलादेश दुवै मुलुकमा नयाँ राजनीतिक नेतृत्व सक्रिय रहेको उल्लेख गर्दै उनले वर्तमान समयलाई आर्थिक सम्बन्ध विस्तार र क्षेत्रीय साझेदारी सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे।विज्ञहरूका अनुसार नेपाल, भारत र बंगलादेशबीचको आर्थिक तथा ऊर्जा सहकार्यले दक्षिण एसियामा नयाँ आर्थिक सम्भावना सिर्जना गर्नुका साथै रोजगारी, लगानी र व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया