पटना कोचिङ विवादका आरोपी प्रिन्स यादव विराटनगरको होटलमा मृत फेला
विराटनगर । बिहारको चर्चित कोचिङ विवादमा मुछिएका भारतीय नागरिक प्रिन्स यादव विराटनगरस्थित एक होटलमा मृत अवस्थामा फेला परेका छन्। घटनापछि नेपाल र भारत दुवै देशका सुरक्षा निकायले यस विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएका छन्।
सहरसा, बिहारका स्थायी बासिन्दा यादव प्रसिद्ध शैक्षिक संस्था ‘ज्ञान विन्दु एकेडेमी’का प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी उक्त संस्थाका सञ्चालक रौशन आनन्दका भाइ समेत हुन्।प्रहरी स्रोतका अनुसार यादव केही दिनअघि भारतबाट नेपाल प्रवेश गरेका थिए। उनी विराटनगरको एक होटलमा बस्दै आएका बेला शंकास्पद अवस्थामा मृत फेला परेको जनाइएको छ।यस घटनाको पृष्ठभूमि पटनामा रहेका दुई ठूला कोचिङ संस्थानबीचको विवादसँग जोडिएको बताइएको छ। चर्चित शिक्षक ‘खान सर’को ‘खान ग्लोबल स्टडीज’ संस्थामा भएको आक्रमण तथा तोडफोड घटनापछि दर्ता गरिएको मुद्दामा ज्ञान विन्दु एकेडेमीका सञ्चालकहरूविरुद्ध अनुसन्धान भइरहेको थियो।उक्त प्रकरणमा मुख्य सञ्चालक रौशन आनन्द यसअघि नै पक्राउ परिसकेका छन् भने प्रिन्स यादव पनि अनुसन्धानको दायरामा रहेका व्यक्तिका रूपमा हेरिएका थिए।
घटनापछि मोरङ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको स्रोतले जनाएको छ। यद्यपि, उनीहरूको संलग्नताबारे आधिकारिक पुष्टि भइसकेको छैन।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानको निष्कर्षपछि मात्रै मृत्युको वास्तविक कारणबारे स्पष्ट हुने प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया