केनेडी सेन्टरको भवनबाट हटाइयो राष्ट्रपति ट्रम्पको नाम
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित प्रतिष्ठित सांस्कृतिक केन्द्र ‘केनेडी सेन्टर’ को मुख्य भवनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम हटाइएको छ ।
केनेडी सेन्टरका मुख्य परिचालन अधिकारी तथा कार्यकारी निर्देशक म्याथ्यु फ्लोकाले डिस्ट्रिक्ट अफ कोलम्बियाको सङ्घीय अदालतमा शनिबार एक लिखित प्रतिवेदन पेस गर्दै सो जानकारी दिएका हुन्।
कार्यदलले भवनको बाहिरी संरचना र वरपरको क्षेत्रबाट राष्ट्रपति ट्रम्प वा अन्य कुनै पनि व्यक्तिको नाममा पुनर्संरचना गरिएका ‘सबै भौतिक साइनबोर्ड तथा नामहरू’ पूर्ण रूपमा हटाइसकेको छ। अब सो केन्द्र केवल पूर्वराष्ट्रपति जोन एफ. केनेडीकै नाममा मात्र रहनेछ।
मौसममा आएको खराबीका कारण शुक्रबारको अन्तिम म्याद गुज्रिएपछि शनिबार बिहानै कामदारहरूले टार्पको आडमा भवनको सेतो भित्ताबाट ट्रम्पको नाम हटाएका थिए। अमेरिकी जिल्ला न्यायाधीश क्रिस्टोफर कूपरले गत मे महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्पले केनेडी सेन्टरलाई आफ्नै नाममा ‘रिब्रान्डिङ’ गर्ने निर्णय गैरकानुनी भएको फैसला सुनाएका थिए ।
सो केन्द्रको नाम बदल्ने अधिकार संसद् (काङ्ग्रेस) सँग मात्र निहित रहने अदालतको ठहर थियो। सोही अदालती आदेशको पालना गर्दै यो कदम चालिएको हो।
अदालतको आदेशपछि केनेडी सेन्टरको वेबसाइटबाट ट्रम्पको नाम हटाइएको छ। यसका साथै कर्मचारीहरूका नयाँ परिचयपत्र जारी गरिएका छन्, इमेल सिग्नेचरहरू सच्याइएका छन् । नाम परिवर्तनका लागि गरिएका ट्रेडमार्क आवेदनहरू समेत खारेज गरिएका छन्।
ट्रम्प प्रशासन र न्याय मन्त्रालयले न्यायाधीश कूपरको फैसलालाई रोक्न (स्टे अर्डर माग्न) गरेका अन्तिम प्रयासहरूलाई शुक्रबार पुनरावेदन अदालतले समेत अस्वीकार गरिदिएपछि नाम हटाउने बाटो खुलेको थियो।
यो घटनालाई राष्ट्रपति ट्रम्पका लागि एक ठुलो धक्काका रूपमा हेरिएको छ। उनले केनेडी सेन्टरको सञ्चालक समितिमा आफ्ना निकटका मानिसहरूलाई भर्ती गर्ने र ठुलो मर्मतसम्भारका लागि यसलाई दुई वर्षसम्म पूर्ण रूपमा बन्द गर्ने महत्त्वाकाङ्क्षी योजना बनाएका थिए। पूर्वराष्ट्रपति बराक ओबामाद्वारा नियुक्त न्यायाधीश कूपरले सेन्टर बन्द गर्ने ट्रम्पको योजनालाई पनि उल्ट्याइदिएका थिए ।
यसबाट आक्रोशित बनेका राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट लेख्दै आफूलाई आफ्नो तरिकाले काम गर्न नदिएमा यस संस्थामा आफ्नो कुनै चासो नरहने टिप्पणी गरेका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया