अमेरिका–इरान प्रारम्भिक सम्झौतामा आज हस्ताक्षर हुन सक्ने ट्रम्पको दाबी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको प्रारम्भिक शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा शनिबार राति पोस्ट गर्दै उनले सम्झौता अन्तिम चरणमा पुगेको बताएका हुन्।
ट्रम्पका अनुसार सम्झौतामा हस्ताक्षर भएसँगै विश्वकै महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने हर्मुज जलमार्ग सबैका लागि पुनः खुला हुनेछ। उनले इरानले अब आणविक हतियार विकास गर्न नचाहेको र भविष्यमा पनि त्यस्तो क्षमता हासिल गर्न नसक्ने दाबी गरेका छन्।
ट्रम्पले अमेरिका–इरान सम्बन्ध विगतका प्रशासनहरूको तुलनामा सुधार भएको उल्लेख गर्दै इरानलाई कुनै ठूलो नगद सहायता नदिइने स्पष्ट पारे। उनले पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनसँग तुलना गर्दै यसपटक कुनै आर्थिक सम्झौता नहुने बताए।
उनले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित बाँकी संरचनाहरू र उच्च समृद्ध युरेनियमको व्यवस्थापनबारे पनि कडा धारणा व्यक्त गरेका छन्। ट्रम्पले इरानसँग रहेको करिब ४०० किलो उच्च समृद्ध युरेनियमलाई नष्ट गरिने बताएका छन्।
यसैबीच, अमेरिका–इरान युद्ध अन्त्यका लागि मध्यस्थताको भूमिका खेलिरहेको पाकिस्तानले पनि २४ घण्टाभित्र सम्झौता हुन सक्ने जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जाल एक्समार्फत दुवै पक्षबीच विद्युतीय माध्यमबाट हस्ताक्षर हुन सक्ने बताएका छन्।
यद्यपि, इरानी पक्षले भने सम्झौताबारे अझै सावधानीपूर्ण प्रतिक्रिया दिएको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले सम्झौता नजिक पुगेको स्वीकार गरे पनि हस्ताक्षरको निश्चित मिति तय भइनसकेको बताएका छन्। उनले आइतबार नै सम्झौता हुन सक्ने सम्भावना रहे पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार प्रस्तावित समझदारीमा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश छ। युद्धका क्रममा इरानले हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले सो क्षेत्र वरपर नौसैनिक उपस्थिति बढाउँदै इरानी बन्दरगाहमा नाकाबन्दी गरेको थियो।
प्रस्तावित सम्झौताअनुसार अमेरिकाले इरानका रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्तिहरू क्रमशः फुकुवा गर्ने तथा तेल निर्यातसम्बन्धी केही प्रतिबन्धहरू खुकुलो पार्ने तयारी गरेको बताइएको छ। बदलामा इरानले अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि हर्मुज जलमार्ग खुला गर्नेछ।
तर इरानको आणविक कार्यक्रम र उच्च समृद्ध युरेनियमको व्यवस्थापनजस्ता संवेदनशील विषयमा भने दुवै देशबीच अझै मतभेद कायम रहेको बताइएको छ। यी विषयमा भविष्यमा छुट्टै वार्ता गर्ने सहमति प्रस्तावमा समावेश गरिएको जनाइएको छ।
विश्लेषकहरूका अनुसार सम्झौता सफल भए मध्यपूर्वको तनाव कम हुनुका साथै विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव पर्न सक्छ। तर दीर्घकालीन स्थायित्व भने आगामी आणविक वार्ताको नतिजामा निर्भर रहनेछ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया