शिक्षित युवालाई सरकारी काममा जोड्ने सरकारको तयारी
काठमाडौं । उच्च शिक्षा हासिल गरेका युवाहरूलाई प्रत्यक्ष सरकारी कामकाजमा सहभागी गराउने उद्देश्यसहित सरकारले नयाँ योजना अघि सारेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि’ को मस्यौदा सार्वजनिक गर्दै शिक्षित युवालाई सरकारी सेवा प्रवाह, विकास निर्माण तथा शासकीय प्रणालीसँग जोड्ने तयारी गरेको हो।
मन्त्रालयका अनुसार उक्त कार्यविधि कार्यान्वयनमा आएपछि युवाहरूले विभिन्न सरकारी निकायमा सेवा प्रवाह सहजकर्ताका रूपमा काम गर्ने अवसर पाउनेछन्। यसबाट उनीहरूले व्यावहारिक अनुभव हासिल गर्नुका साथै सार्वजनिक सेवाको गुणस्तर सुधारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले यो पहललाई युवाको क्षमता विकास र सार्वजनिक सेवा प्रणाली सुधारको महत्वपूर्ण माध्यमका रूपमा लिएको छ। मन्त्रालयका अनुसार कार्यक्रमले सरकारी सेवा थप छरितो, प्रभावकारी तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यस्तै, युवाहरूमा सेवाभाव, नागरिक उत्तरदायित्व तथा राष्ट्रप्रतिको दायित्वबोध अभिवृद्धि गर्न पनि कार्यक्रम प्रभावकारी हुने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयले कार्यविधिलाई अन्तिम रूप दिनुअघि सरोकारवाला निकाय, विज्ञ तथा सर्वसाधारणबाट सुझाव संकलन गर्ने जनाएको छ। प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र admin.reform.section@mofaga.gov.np मा आफ्नो राय तथा सुझाव पठाउन सक्नेछन्।
सरकारको यो पहललाई शिक्षित युवाको ज्ञान र क्षमतालाई राज्य संयन्त्रसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया