Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा. वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली युवाहरू आफ्नो सपना पूरा गर्न विदेश जानैपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले ठोस पहल सुरु गरेको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको आधार निर्माण गरिएको र आगामी पाँच वर्षभित्र यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले विगत डेढ दशकभन्दा लामो समयदेखि युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै अब स्वदेशमै सम्भावना र अवसर विस्तार गर्ने लक्ष्यसहित सरकार अघि बढेको बताए।

उनले बजेटमा समावेश गरिएका कार्यक्रमहरूले युवा उद्यमशीलता, रोजगारी सिर्जना तथा निजी क्षेत्रको विस्तारलाई प्रोत्साहन गर्ने दाबी गरे। उनका अनुसार कर प्रणालीमा गरिएको सुधार, सरकारी सेवा प्रवाहको डिजिटल रूपान्तरण, सुशासनका कार्यक्रम तथा व्यवसायमैत्री नीतिहरूले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

अर्थमन्त्री वाग्लेले एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गरिएको जानकारी दिँदै साना उद्यमी र स्वरोजगारमा लागेकाहरूलाई राहत पुग्ने बताए। साथै, विगतका कर तथा बक्यौता विवादमा अल्झिएका उद्योगी–व्यवसायीलाई नयाँ सुरुवातको अवसर दिने उद्देश्यले विभिन्न सहुलियतपूर्ण व्यवस्था बजेटमा समेटिएको उनको भनाइ थियो।

देशभरबाट सहभागी युवा उद्यमीहरूलाई सम्बोधन गर्दै उनले बजेट निर्माणका क्रममा युवाको सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशील सोचलाई केन्द्रमा राखिएको उल्लेख गरे। सरकारको लक्ष्य युवालाई रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने शक्तिका रूपमा स्थापित गर्नु रहेको उनको भनाइ छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट