परराष्ट्रमन्त्रीको चीन भ्रमण : राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन समुदायसँग आग्रह
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई त्यहाँको नेपाली दूतावासले स्वागत कार्यक्रम आयोजना गरेको छ ।
बेइजिङ पुगेपछि परराष्ट्रमन्त्री खनालले नेपाली दूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा मन्त्री खनालले सुशासनको संस्थागत विकास, आर्थिक समृद्धि तथा विकासलाई वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेको नेपाली दूतावासले जनाएको छ।
उनले राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन चीनमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।
भ्रमणका क्रममा मन्त्री खनालले नेपाली दूतावास परिसरमा वृक्षारोपण पनि गरेका छन् । उनले दूतावासको कार्यसम्पादन र प्राथमिकताबारे कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूबाट जानकारी लिएका थिए।
सो अवसरमा मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्द्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी र सहज सेवा उपलब्ध गराउन दूतावासलाई निर्देशन दिएका छन्।
बेइजिङको विमानस्थलमा उनलाई बेइजिङस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया