भारतमा ९ दिनमै तेस्रोपटक इन्धन महँगियो, नेपालमा पनि मूल्यवृद्धिको दबाब बढ्न सक्ने
काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । भारतीय राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेल ९१ पैसा महँगिएर ९२.४९ भारतीय रुपैयाँ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो ९ दिनभित्र भारतमा इन्धन मूल्य बढाइएको तेस्रोपटक हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलमा औसत ९० पैसा वृद्धि गरिएको थियो भने मे १५ मा प्रतिलिटर ३ रुपैयाँ बढाइएको थियो ।
नेपालमा पनि असर पर्न सक्ने
नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले भारतीय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेललगायत इन्धन खरिद गर्दै आएको छ ।
नेपाल आयल निगमका एक सञ्चालक समिति सदस्यका अनुसार भारतबाट आउने नयाँ खरिद मूल्यसूची महँगो आए निगमको लागत बढ्नेछ । त्यसपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन् । यद्यपि तत्काल मूल्य बढ्ने वा घट्नेबारे निश्चित निर्णय नभएको उनको भनाइ छ ।
निगमले अन्तर्राष्ट्रिय बजारको अवस्था र स्वचालित मूल्य प्रणालीअनुसार हरेक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ ।
कच्चा तेल महँगिँदा दबाब
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि भारतमा पेट्रोलियम पदार्थ महँगिएको बताइएको छ । इरान–अमेरिका तनाव चर्किनुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारीमा रहेकामा अहिले १०० डलर नाघेको उल्लेख गरिएको छ ।
कच्चा तेलको मूल्यवृद्धिसँगै सरकारी तेल कम्पनीहरू आर्थिक दबाबमा परेपछि घाटा पूर्ति गर्न इन्धनको मूल्य बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च रहिरह्यो भने आगामी दिनमा थप मूल्यवृद्धि हुन सक्ने अनुमान गरिएको छ ।
भारतमा पेट्रोल र डिजेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको अवस्था तथा कर संरचनाका आधारमा निर्धारण गरिन्छ । सरकारी तेल कम्पनीहरूले ‘डाइनामिक प्राइसिङ सिस्टम’ अन्तर्गत दैनिक रूपमा नयाँ मूल्य सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।
सन् २०२४ यता मूल्य स्थिर थियो
भारतमा मार्च २०२४ यता पेट्रोल र डिजेलको मूल्य स्थिर राखिएको थियो । लोकसभा निर्वाचनअघि सरकारले उपभोक्तालाई राहत दिन प्रतिलिटर २ रुपैयाँ घटाएको थियो ।
तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएसँगै सरकारी स्वामित्वका तेल कम्पनीहरू घाटामा गएको भारत सरकारको भनाइ छ । पेट्रोलियम मन्त्रालयका अधिकारीहरूका अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीमा कम्पनीहरूले मासिक करिब ३० हजार करोड भारतीय रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएका थिए ।
यसअघि मूल्य नियन्त्रणका लागि भारत सरकारले पेट्रोल र डिजेलमा लगाइने विशेष एक्साइज ड्युटी पनि घटाएको थियो । त्यसले लामो समयसम्म मूल्य स्थिर राख्न सहयोग पुगेको बताइएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको भू–राजनीतिक तनावलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोग संयमतापूर्वक गर्न आग्रह गरेका छन् । उनका अनुसार आवश्यकताअनुसार मात्रै इन्धन प्रयोग गर्दा विदेशी मुद्रा बचत हुनुका साथै युद्धको नकारात्मक असर पनि कम गर्न सकिन्छ ।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया