नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ५ अर्ब ९८ करोड
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ७५ हजार ८५६ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँबराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १।५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।
यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया