सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ७३ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक २.६६ अंक बढेर २७८०.२५ विन्दुमा पुगेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब २६ करोड रुपैयाँको शेयर खरिदबक्री भएको बजारमा यस दिन ३४७ स्टकको ६२ हजार १४८ पटकको कारोबारमा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड २३ लाख ७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७४ रुपैयाँ ७० पैसा बढेर ५७२ रुपयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य करिब १५ प्रतिशत बढेको छ भने विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया