सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ९० करोड
काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन पुनः घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५८ हजार ३९१ पटकको कारोबारमा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको ९२ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।४५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिटि होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया