KTM Post Logo
KTM Post Logo

दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने निर्णय, अनलाइन बुकिङ र अनुगमनमा कडाइ गरिने

📰
KTM Post

काठमाडौं।  आगामी दशैंलगायत चाडपर्वका अवसरमा सर्वसाधारणको सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकार तथा यातायात सम्बद्ध निकायहरूले सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने निर्णय गरेका छन्।

यातायात व्यवस्था विभागद्वारा जारी निर्णय अनुसार मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुलाउने व्यवस्थालाई निरन्तरता दिइने भएको छ।

विभागले यात्रा व्यवस्थापनलाई प्रविधिमैत्री र पारदर्शी बनाउन यातायात व्यवसायीहरूलाई यथाशक्य अनलाइन बुकिङको व्यवस्था मिलाउन र यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्न निर्देशन दिएको छ।

चाडपर्वका बेला हुन सक्ने ठगी र सास्ती रोक्न यातायात व्यवसायी तथा कम्पनीहरूले टिकट जारी गर्ने कर्मचारीहरूका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ।

अनधिकृत काउन्टर, परिचयपत्र र पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिने निर्णय भएको छ। यसैगरी, यात्रुहरूलाई पनि अनिवार्य रूपमा आधिकारिक काउन्टर र परिचयपत्रवाहक कर्मचारीबाट मात्र टिकट लिएर यात्रा गर्न, मादक पदार्थ सेवन नगर्न र सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ।

उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारी साधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रा.लि. र उपभोक्ता हकहित संरक्षण सम्बद्ध संस्थाहरू सम्मिलित टोलीले सहकार्य गर्नेछन्।

चाडपर्वको समयमा यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारी साधनको आवतजावत सम्बन्धी निर्णयहरू सरोकारवालासँग छलफल गरी विभागले छिट्टै मिति र समय तोकेर सूचना जारी गर्नेछ।

साथै, मुख्य सडक तथा राजमार्गहरूमा पहिरो नियन्त्रण, मर्मतसम्भार र सडक जाम हुन नदिने व्यवस्था मिलाउन यातायात व्यवस्था विभागमार्फत सडक विभागलाई अनुरोध गरिएको छ।

दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि देशका प्रमुख स्थानहरूमा सवारी चालकको स्वास्थ्य अवस्था तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरे/नगरेको कडा जाँच गरिनेछ र चालकले सेवन गरेको पाइएमा तत्काल अर्को चालकको व्यवस्था व्यवसायीले गर्नुपर्नेछ।

लामो दूरीका सवारी साधन प्रस्थान गर्नुअघि अनिवार्य रूपमा यान्त्रिक अवस्थाको जाँच गरिनुका साथै कम्तीमा दुई जना चालक राखी आलोपालो चलाउने व्यवस्था मिलाउनुपर्नेछ।

यसका साथै चालक तथा कर्मचारीले तोकिएको मापदण्ड पुगेका र भिडभाड नहुने स्थानमा मात्र यात्रुहरूलाई खाना/खाजा खुवाउनुपर्नेछ भने १८ वर्ष उमेर पूरा नभएका नाबालकलाई सवारी साधनको परिचालक वा अन्य कुनै काममा नलगाउन सख्त निर्देशन दिइएको छ।

चाडपर्वमा सवारीको चाप अत्यधिक बढ्ने र सडक दुर्घटनाको जोखिम रहने भएकाले सम्पूर्ण संयन्त्रलाई अनुगमन र निगरानी बढाउन भनिएको छ।

सम्बन्धित समाचार

सिद्धबाबा सुरुङमार्गः आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी 1

सिद्धबाबा सुरुङमार्गः आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्रताका साथ अघि बढाइएको छ।सिद्धबाबा...

जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा 1

जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइते विद्यार्थीहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।शिक्षा...

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ? 1

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?

असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम...

नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री 1

नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री

गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्।पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा...