सिद्धबाबा सुरुङमार्गः आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
पाल्पा। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्रताका साथ अघि बढाइएको छ।
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणलाई अबको केही समयभित्रै अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो।
सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेकाले आगामी मङ्सिरभित्रै सवारीसाधन सञ्चालनको लक्ष्य राखिएको आयोजना प्रमुख नवराज बास्तोलाले जानकारी दिए।
उनले भने, “बर्खा र भोटेकोशीमा आएको बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले काम केही समय प्रभावित हुन पुग्यो। अब एक-दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रका बाँकी काम द्रुत गतिमा अगाडि बढाउँछौं। हामी मङ्सिर १५ गतेभित्रै सवारीसाधन सञ्चालन गर्नेछौँ।”
भोटेकोशीको बाढीले सुरुङमार्गका लागि ल्याइएका महत्त्वपूर्ण विद्युतीय सामग्रीहरू बगाएपछि सवारी सञ्चालन गर्ने पूर्वनिर्धारित योजना केही समयका लागि प्रभावित हुन पुगेको बास्तोलाले स्पष्ट पारे।
हाल सुरुङभित्र सडकको कालोपत्रे (पिच) सकिएर रङरोगनको काम भइरहेको छ। यसका साथै, टेक्निकल भवनको फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ। सुरुङको लाइनिङ अर्थात् भुइँ र भित्ता ढलानसहितका सम्पूर्ण सिभिल संरचनाको काम यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब मुख्य रूपमा इलेक्ट्रोमेकानिकलसम्बन्धी केही कामहरू मात्र बाँकी रहेको प्रमुख बास्तोलाको भनाइ छ।
योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दका अनुसार सुरुङमार्गको हालसम्मको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ।
हालसम्म मुख्य सुरुङसहित बाइपास सुरुङहरू खन्ने, लाइनिङ गर्ने, १४ वटा कल्भट निर्माण गर्ने र टनेल भित्रको पेभमेन्टको काम पूर्ण रूपमा सकिएको इन्जिनियर आनन्दले जानकारी दिए। यस आयोजनाअन्तर्गत कुल तीनवटा बाइपास निर्माण गरिएका छन्।
सुरुङको भित्री भागको काम सकिएपछि बाहिरी सडक क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित बनाउने काम थालिने उनले बताए। सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल ब्यारियर र स्लोप प्रोटेक्सनजस्ता अत्याधुनिक सुरक्षाका कामहरू गरिने उनको भनाइ छ।
कुल एक हजार १२६ मिटर लामो यो सुरुङमार्ग २०७८ साल फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि औपचारिक रूपमा निर्माण सुरु भएको हो। यस आयोजनाको निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ지िनियरिङ कर्पोरेसनले पाइरहेको छ। सो निर्माण कम्पनीले कुल सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा यो ठेक्का लिएको हो।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो खस्ने खतरनाक क्षेत्रअन्तर्गत पर्दछ। विशेष गरी सुक्खायाममा लगातार सुक्खा पहिरो खस्ने तथा बर्खामा लेदो खस्ने समस्याका कारण जोखिमपूर्ण बन्ने गरेको यस राजमार्गको खण्डलाई सुरक्षित र बाह्रैमैसा सञ्चालनयोग्य बनाउन यो सुरुङमार्ग निर्माण गरिएको हो।
नेपाल सरकारको आफ्नै लगानी तथा स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पहिरो र खस्ने ढुङ्गाको जोखिम तथा त्रासबाट हजारौँ यात्रुले सधका लागि मुक्ति पाउनेछन्।
यस सुरुङमार्गबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
सम्बन्धित समाचार
दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने निर्णय, अनलाइन बुकिङ र अनुगमनमा कडाइ गरिने
काठमाडौं। आगामी दशैंलगायत चाडपर्वका अवसरमा सर्वसाधारणको सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकार तथा यातायात सम्बद्ध निकायहरूले सार्वजनिक यातायात...
जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा
सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइते विद्यार्थीहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।शिक्षा...
मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?
असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम...
नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री
गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्।पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा...




