मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?
असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ ।
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार बबरमहलस्थित मौसम विज्ञान विभाग पुगेर मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएका छन् । उनीहरूले विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग वर्षा र हिमपातको पूर्वानुमान तथा त्यसबाट आउन सक्ने जोखिमबारे छलफल गरेका हुन् ।
छलफलमा मौसमविद्हरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको जानकारी दिएका छन् ।
वर्षा गराउने प्रणाली नेपालभर फैलिने सम्भावना रहेकाले पहाडी तथा तराई क्षेत्रमा डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने विभागले जनाएको छ । हालसम्मको अवस्थाअनुसार लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको मात्रा बढी हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् ।
उनका अनुसार जोखिमयुक्त क्षेत्र पहिचान गरी उच्च सतर्कता अपनाउन र हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ । सम्भावित विपद्का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित मन्त्रालय तथा निकायसँग नियमित सूचना आदानप्रदान भइरहेको उनले बताइन् ।
‘विपद् प्राधिकरणसँग हाम्रो नियमित कुरा भइरहेको छ र सम्बन्धित निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ पोखरेलले भनिन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र बंगालको खाडीको मध्य भूभागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ अर्थात् बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको विभागले जनाएको छ ।
पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको उक्त प्रणालीको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने पूर्वानुमान गरिएको छ ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
मौसम विभागले विशेष बुलेटिन जारी गरेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक उक्त अवधिमा टाढा तथा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । साथै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय तथा स्वयंसेवकलाई आम नागरिकलाई पूर्वसूचना दिने र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि प्राधिकरणले सम्बन्धित निकायलाई भनेको छ ।
सम्बन्धित समाचार
दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने निर्णय, अनलाइन बुकिङ र अनुगमनमा कडाइ गरिने
काठमाडौं। आगामी दशैंलगायत चाडपर्वका अवसरमा सर्वसाधारणको सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकार तथा यातायात सम्बद्ध निकायहरूले सार्वजनिक यातायात...
सिद्धबाबा सुरुङमार्गः आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
पाल्पा। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्रताका साथ अघि बढाइएको छ।सिद्धबाबा...
जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा
सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइते विद्यार्थीहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।शिक्षा...
नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री
गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्।पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा...




