रास्वपा महाधिवेशनमा चासो घट्यो १३ सयभन्दा बढी प्रतिनिधिले नै हालेनन् भोट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत भएको पहिलो चरणको निर्वाचनमा १३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि मतदानबाट बाहिरिएका छन्। ४३११ प्रतिनिधि रहेको बताइए पनि केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा केवल २९५९ जनाले मात्र भोट खसालेका छन्।
मतदान प्रक्रिया लामो समयसम्म लम्बिँदा धेरै प्रतिनिधि घर फर्किएको चर्चा छ। तीन दिनका लागि तय गरिएको महाधिवेशन पाँच दिनसम्म तन्किएपछि व्यवस्थापनप्रति असन्तुष्टि बढेको र त्यसकै असर मतदानमा देखिएको बताइएको छ।
महाधिवेशनको व्यवस्थापकीय कमजोरीबारे पार्टीभित्रैबाट आलोचना भइरहेका बेला प्रवक्ता मनिष झाले पनि कमजोरी स्वीकार्दै नेतृत्व लज्जित रहेको बताएका छन्।
यता, दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि हुने निर्वाचनमा झन् कम मत खस्ने चिन्ता नेताहरूमा देखिएको छ। त्यसैले पार्टीका शीर्ष नेताहरूले प्रतिनिधिहरूलाई मतदान सकेर मात्र घर फर्किन आग्रह गरिरहेका छन्।
महाधिवेशन लम्बिनु, बसोबास व्यवस्थापनको अभाव र प्रतिनिधिहरूको असन्तुष्टिले रास्वपाको पहिलो महाधिवेशनमाथि प्रश्न उठ्न थालेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया