Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

सय दिनमा महिला तथा सामाजिक सुरक्षा मन्त्रालय : कानुनी सुधारदेखि सामाजिक संरक्षणसम्मका उपलब्धि


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाह, सामाजिक संरक्षण तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा महिला सशक्तीकरण, बालअधिकार संरक्षण, सामाजिक सुरक्षा तथा लैङ्गिक समानतासम्बन्धी विभिन्न नीतिगत तथा कार्यक्रमगत कार्यहरू अघि बढाइएका छन्।

कानुनी तथा नीतिगत सुधारमा जोड

मन्त्रालयका अनुसार लैङ्गिक हिंसा निवारणसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गर्ने प्रक्रिया सुरु गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधनको मस्यौदा सम्बन्धित मन्त्रालयमा पठाइएको छ भने बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन अन्तिम चरणमा पुगेको जनाएको छ।

यसैगरी, राष्ट्रिय ज्येष्ठ नागरिक नीति, राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि तथा लैङ्गिक हिंसा निवारणका लागि राष्ट्रिय कार्ययोजना निर्माणको काम पनि अघि बढाइएको छ।

सेवा प्रवाहमा डिजिटल प्रणाली

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्रालयले प्रशासनिक कार्यलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ।

कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गरिएको, मन्त्रालयको वेबसाइटलाई दृष्टिविहीनमैत्री बनाइएको तथा महिला हिंसा, हराएका बालबालिका र बाल हेल्पलाइन सेवालाई २४ सै घण्टा सञ्चालनमा राखिएको जानकारी दिइएको छ। नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको मन्त्रालयको दाबी छ।

सामाजिक संरक्षणमा विभिन्न कार्यक्रम

मन्त्रालयका अनुसार सय दिनको अवधिमा ज्यान जोखिममा रहेका ३० जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। साथै, ९९ जना सडक बालबालिकाको उद्धार गरिएको र हराएका दुई हजार ४४० बालबालिकामध्ये दुई हजार ४६ जना फेला पारिएको जनाएको छ।

मानव बेचबिखनबाट प्रभावित व्यक्ति, हिंसा पीडित महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि पुनर्स्थापना र संरक्षण सेवालाई निरन्तरता दिइएको पनि मन्त्रालयले जनाएको छ।

सुकुम्बासी परिवारलाई राहत वितरण

काठमाडौं उपत्यकामा स्थानान्तरण गरिएका सुकुम्बासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ।

बालगृहहरूको आकस्मिक अनुगमन, बालबालिकामाथि हुने दुव्र्यवहारका घटनामा तत्काल हस्तक्षेप तथा संरक्षण सेवाको प्रभावकारिता बढाउन आवश्यक कदम चालिएको विवरणमा उल्लेख गरिएको छ।

महिला सशक्तीकरण र समावेशी विकास

महिला उद्यमशीलता प्रवर्द्धन, लैङ्गिक समानता, पहुँचयुक्त पूर्वाधार निर्माण, मानव बेचबिखन नियन्त्रण, सामाजिक कुरीतिविरुद्ध सचेतनामूलक कार्यक्रम तथा ज्येष्ठ नागरिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सामाजिक सूचना व्यवस्थापन प्रणाली (एसआईएमएस) विस्तार तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षणका क्षेत्रमा पनि विभिन्न पहल गरिएको उल्लेख छ।

स्थलगत अनुगमन र अन्तरसंस्थागत समन्वय

मन्त्री सिता बादीले समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, बाल सुधार गृह, एसओएस बालग्राम तथा अटिजम विद्यालयलगायत विभिन्न संस्थाको स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

यस अवधिमा विभिन्न मन्त्रालय, संवैधानिक आयोग, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय र सहकार्य विस्तार गर्न उच्चस्तरीय भेटघाट तथा छलफलसमेत गरिएको छ।मन्त्रालयका अनुसार महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षासम्बन्धी सेवालाई थप प्रभावकारी, समावेशी र नतिजामुखी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल भएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट