उचाइको दबाब कम गर्न इङ्गल्यान्डका खेलाडीलाई भियग्राको प्रयोग अनुमति
काठमाडौं । मेक्सिकोविरुद्ध हुने अन्तिम १६ को खेलअघि इङ्गल्यान्डका खेलाडीहरूले चिकित्सकीय सल्लाहअनुसार आवश्यक परे भियग्रा प्रयोग गर्न पाउने भएका छन्। खेल समुद्री सतहबाट करिब २,२०० मिटरभन्दा बढी उचाइमा रहेको ऐतिहासिक एज्टेका रंगशालामा हुने भएकाले अल्टिट्युड सिकनेस (उच्च उचाइका कारण हुने स्वास्थ्य समस्या) को जोखिम कम गर्न मेडिकल टोलीले यस्तो अनुमति दिएको हो।
बेलायती सञ्चारमाध्यम द सनका अनुसार इङ्गल्यान्डको मेडिकल स्टाफले खेलाडीहरूलाई आवश्यकता अनुसार भियग्रा प्रयोग गर्न स्वीकृति दिएको हो। एन्टी-डोपिङको नियमले खेलाडीहरूलाई यो औषधिको प्रयोग गर्न बन्देज लगाएको छैन ।
यौन दुर्बलताका लागि प्रयोग गरिने यो औषधि विश्व एन्टी-डोपिङ एजेन्सीको सन् २०२६ को प्रतिबन्धित औषधिको सूचीमा छैन । विभिन्न अध्ययन अनुसार भियाग्राले फोक्सोको रक्तचाप कम गर्न मद्दत गर्छ । जसका कारण धेरै उचाइ भएको स्थानमा हुने थकान र रिंगटा लाग्ने समस्या कम हुन्छ ।
इङ्गल्याण्डका खेलाडीहरूले यो औषधि प्रयोग गर्नेबारे केही बताएका छैनन् । तर, प्रशिक्षक थोमस टुचेल भने मेक्सिकोको भौगोलिक कठिनाइसँग जुध्न सबैखाले उपाय लगाउने तयारीमा छन् ।
इङ्गल्याण्ड र मेक्सिकोबीच भोलि बिहान पौने ६ बजे अन्तिम १६ को खेल हुँदैछ । यो खेल ऐतिहासिक ‘एज्टेका’ रंगशालामा हुँदैछ । यो रंगशाला समुद्री सतहबाट २,२०० मिटरभन्दा माथिको उचाइमा छ । यति धेरै उचाइमा बल निकै तीव्र गतिमा हावामा उड्छ र मैदानमा दौडधुप गर्न खेलाडीहरूलाई निकै कठिन हुन्छ । यस्तो उचाइमा हावामा अक्सिजन कम हुने भएकाले खेलाडीहरूलाई छिट्टै थकान हुने, सास फेर्न गाह्रो हुने समस्या आउन सक्छ ।
अर्कातिर मेक्सिकोका खेलाडीहरू यो उचाइमा खेल्न अभ्यस्त छन् । विगत ५६ वर्षमा मेक्सिकोले यो रंगशालामा खेलेका खेलहरूमध्ये दुईवटा खेलमा मात्र हार व्यहोरेको छ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया