Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान


काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

खेलको २९औँ मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई सुरुवाती १-० को अग्रता दिलाएका थिए। यससँगै विश्वकपमा उनको व्यक्तिगत गोल सङ्ख्या २० पुगेको छ र विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो कीर्तिमानलाई थप मजबुत बनाएका छन्।

तथ्यांक संस्था ‘अप्टा’ का अनुसार मेस्सी विश्वकपका दुई फरक संस्करणमा कम्तीमा सात-सात गोल गर्ने पहिलो फुटबलर समेत बनेका छन्। उनले कतारमा सम्पन्न २०२२ को विश्वकपमा सात गोल गरेका थिए भने जारी २०२६ को संस्करणमा पनि आफ्नो सातौँ गोल पूरा गरिसकेका छन्।

यो सङ्ख्यासँगै उनी यस संस्करणको गोल्डेन बुटका प्रमुख दाबेदारमध्ये एक बनेका छन्। नकआउट चरणको यस खेलअघि मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६-६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा थिए।

तर, केप भर्डेविरुद्धको यो गोलपछि मेस्सी एक्लै शीर्ष स्थानमा उक्लिएका छन्। यस खेलअघि नै मेस्सीले विश्वकपमा आफ्नो ३०औँ खेल पूरा गर्दै इतिहासमै सबैभन्दा धेरै विश्वकप खेल खेल्ने पहिलो फुटबलरको कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्।उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको साविक विश्वविजेता अर्जेन्टिनाले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई लामो समय जोगाउन सकेन। दोस्रो हाफको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले बराबरी गोल फर्काउँदै खेललाई १-१ को रोमान्चक अवस्थामा पुर्‍याए।

त्यसपछि मेस्सीले लगातार कयौँ आक्रमणहरू सिर्जना गरे पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई संकटबाट जोगाए। निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो।अतिरिक्त समयको दोस्रो मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाएका थिए। तर, त्यसको ११ मिनेटपछि नै सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई दोस्रोपटक खेलमा फर्काए।

खेल पेनाल्टी सुटआउटतर्फ धकेलिने संकेत देखिँदै गर्दा १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसले आत्मघाती गोल गर्न पुगे, जुन खेलको निर्णायक मोड बन्यो र केप भर्डे स्तब्ध हुन पुग्यो। साविक विश्वविजेताविरुद्ध नवप्रवेशी टोली केप भर्डेले उत्कृष्ट र साहसी प्रदर्शन गरे पनि हार टार्न सकेन। रोमाञ्चक जितसँगै अन्तिम १६ मा स्थान सुरक्षित गरेको अर्जेन्टिनाले अब क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टको सामना गर्नेछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट