मन्त्री प्रतिभा रावलद्वारा मन्त्रालयमा सेवा इकाई सञ्चालनको सुरुवात
काठमाडौँ । निजामती कर्मचारीलाई कार्यस्थलमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा ल्याइएको छ।
मन्त्रालय भवनको तल्लो तलामा स्थापना गरिएको उक्त सेवा इकाई औपचारिक रूपमा सञ्चालनमा आएको हो। कर्मचारीले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न र सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्यसहित यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न तथा कार्यस्थलमै छिटो र सरल स्वास्थ्य सेवा प्रदान गर्न सेवा इकाई स्थापना गरिएको हो।
उक्त केन्द्रबाट निजामती कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यसले कर्मचारीको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्दै आवश्यकतानुसार अन्य स्वास्थ्य सुविधा पनि समावेश गर्ने तयारी गरेको जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया