Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

विश्वकपमा स्पेनको दमदार प्रदर्शन, अस्ट्रियामाथि ३–० को जीत


काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रभावशाली प्रदर्शन गर्दै अस्ट्रियामाथि ३–० को जित निकाल्दै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको छ। यससँगै पूर्व विश्वविजेताले उपाधि दाबेदारका रूपमा आफ्नो दाबीलाई थप मजबुत बनाएको छ।

अमेरिकाको लस एन्जलसमा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै बलमाथि नियन्त्रण कायम राख्दै आक्रामक खेल प्रस्तुत गरेको थियो। टोलीका लागि मिकेल ओयार्जाबालले दुई गोल गर्दा पेड्रो पोरोले एक गोल थपे।स्पेनले खेलको ३६औँ मिनेटमा अग्रता लिएको थियो। मार्क कुकुरेलाको उत्कृष्ट पासमा ओयार्जाबालले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याए। पहिलो हाफमा यही अग्रता कायम राखेको स्पेनले दोस्रो हाफमा थप प्रभावशाली खेल प्रदर्शन गर्‍यो।

६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि पनि खेलमाथि नियन्त्रण कायम राखेको स्पेनले अन्तिम मिनेटमा अर्को गोल थप्न सफल भयो।

८९औँ मिनेटमा पुनः मार्क कुकुरेलाकै असिस्टमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–० को सहज जित पक्का गरे। कुकुरेलाको दुई असिस्ट र ओयार्जाबालको दोहोरो गोल स्पेनको जितका मुख्य आकर्षण बने।यो नतिजाले स्पेनको विश्वकप इतिहासमा लामो समयदेखिको नकआउट चरणको निराशाजनक यात्रालाई पनि अन्त्य गरेको छ। सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेनले नकआउट चरणमा जित निकाल्न सकेको थिएन।

सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा रुस र २०२२ मा मोरोक्कोसँग अन्तिम १६ मा पेनाल्टी सुटआउटमा पराजित भएको थियो। १६ वर्षपछि नकआउट चरणमा प्राप्त यो जितले स्पेनी समर्थक र टोलीमा नयाँ उत्साह थपेको छ।

प्रशिक्षक लुइस डे ला फुएन्टेको रणनीतिअनुसार युवा र अनुभवी खेलाडीहरूको सन्तुलित प्रदर्शनले स्पेनलाई अर्को चरणसम्म पुर्‍याएको छ। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा नयाँ चुनौती सामना गर्नेछ भने अस्ट्रियाको विश्वकप यात्रा यही चरणमा टुंगिएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट