विश्वकपको सबैभन्दा नाटकीय खेल: १२५औं मिनेटको पेनाल्टीले बेल्जियमको उद्धार, सेनेगल अभागी
काठमाडौं । दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।
अमेरिकाको सियाटलस्थित लुमेन फिल्डमा बुधबार राति सम्पन्न राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो।निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको अन्तिम क्षणमा बेल्जियमले निर्णायक गोल गर्दै अविश्वसनीय जित हात पारेको थियो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सेनेगलले २५औँ मिनेटमा हबिब डिएराको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५१औँ मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २–० को बलियो स्थितिमा पुगेको थियो।विश्वकपबाट बाहिरिने दबाबमा रहेको बेल्जियमका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका अनुभवी स्ट्राइकर रोमेलु लुकाकु निर्णायक सावित भए। उनले ८६औँ मिनेटमा थोमस मुनिएरको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि बेल्जियमले खेलमा फर्किने संकेत दिएको थियो।
लुकाकुको गोलको तीन मिनेटपछि कप्तान युरी टिलेमान्सले हेडमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए र टोलीलाई नयाँ ऊर्जा प्रदान गरे।खेलका क्रममा कप्तान टिलेमान्स र लेआन्द्रो ट्रोसार्डबीच केही तनाव देखिए पनि लुकाकुले हस्तक्षेप गरेर स्थिति सामान्य बनाएका थिए।
अतिरिक्त समयमा दुवै टोलीले सतर्क खेल प्रस्तुत गरे। तर, १२५औँ मिनेटमा भिडियो सहायक रेफ्री (भिएआर) को लामो समीक्षा पछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई कप्तान टिलेमान्सले सदुपयोग गर्दै निर्णायक गोल गरे र बेल्जियमलाई ३–२ को ऐतिहासिक जित दिलाए।यस जितसँगै बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि हुने अन्तिम १६ को खेलमा आयोजक अमेरिका वा बोस्निया–हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
लामो समयसम्म खेलमा वर्चस्व कायम राखे पनि अन्तिम समयमा दबाब थेग्न नसक्दा सेनेगलको विश्वकप यात्रा भने यही चरणमा समाप्त भएको छ।
क्याटेगोरी : खेलकुद












प्रतिक्रिया