Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

गोल्डेन बुटको होडमा मेसी र एमबाप्पेको टक्कर: विश्वकप २०२६ मा दुवै शीर्ष स्थानमा


काठमाडौँ । फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी समान सात गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्।

अन्तिम १६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा निर्णायक गोल गरेपछि एमबाप्पेले आफ्नो गोल सङ्ख्या सात पुर्‍याएका हुन्। उनले पाँच खेलमा सात गोल गर्नुका साथै दुई असिस्टसमेत प्रदान गरेका छन्।यता, अर्जेन्टिनाका कप्तान मेसीले चार खेलमै सात गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। उनको प्रभावशाली प्रदर्शनले गोल्डेन बुटको दौडलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

सर्वाधिक गोलकर्ताको सूचीमा नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड र इङ्गल्यान्डका कप्तान ह्यारी केन समान पाँच गोलसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन्। हालान्डले तीन खेलमै पाँच गोल गरेका छन् भने केनले चार खेलमा उक्त उपलब्धि हासिल गरेका हुन्।त्यस्तै, फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान चार गोलसहित शीर्ष गोलकर्ताको सूचीमा रहेका छन्।

असिस्टतर्फ पनि खेलाडीहरूबीच प्रतिस्पर्धा चर्किएको छ। डेम्बेले र भिनिसियसले समान दुई-दुई असिस्ट गरेका छन् भने ओयारजाबाल र सारले एक-एक असिस्ट प्रदान गरेका छन्।क्वार्टरफाइनल र सेमिफाइनल चरण नजिकिँदै जाँदा गोल्डेन बुटको प्रतिस्पर्धा अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। मेसी र एमबाप्पेबीचको प्रतिस्पर्धाले फुटबल समर्थकको ध्यान तानेको छ भने हालान्ड, केनलगायत अन्य खेलाडीले पनि शीर्ष स्थानका लागि चुनौती प्रस्तुत गरिरहेका छन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट