Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

विश्वकप २०२६: सह-आयोजक क्यानडालाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा


काठमाडौँ । सह–आयोजक क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।यस जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक अन्तिम आठमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको दाबी गरिएको छ। साथै, अफ्रिकी फुटबलका लागि अर्को ऐतिहासिक उपलब्धिसमेत थपिएको छ।

खेलको पहिलो हाफमा घरेलु टोली क्यानडाले बलियो दबाब सिर्जना गरे पनि मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई संकटबाट जोगाएका थिए। विशेषगरी तानी ओलुवासेयीको प्रहारलाई विफल पार्दै उनले पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे।

दोस्रो हाफमा भने मोरक्कोले खेलमा पूर्ण नियन्त्रण जमायो। खेलको ५०औँ मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए।बराबरी गोलको खोजीमा आक्रामक बनेको क्यानडाविरुद्ध मोरक्कोले काउन्टर अट्याकलाई प्रभावकारी रूपमा उपयोग गर्‍यो। खेलको ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए।

इन्जुरी समयको आठौँ मिनेटमा सुफियान राहिमीले अर्को गोल थपेपछि मोरक्कोले ३–० को सहज जित सुनिश्चित गर्‍यो।यससँगै विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीले हासिल गरेका कुल आठ जितमध्ये चार जित मोरक्कोकै नाममा रहेको उल्लेख गरिएको छ। क्यामरुन, सेनेगल, घाना र इजिप्टले समान एक–एक जित हासिल गरेका छन्।

पराजयसँगै अमेरिका, मेक्सिको र क्यानडामध्ये क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो सह–आयोजक टोली बनेको छ।अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले यसअघि पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट