Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाइने, मुस्ताङ–डोल्पा सडकलाई उच्च प्राथमिकता : मन्त्री पौडेल


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आयोजना गरेको पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पर्यटनलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गरे।उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई छिट्टै स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय मार्गका रूपमा विकास गरिने बताए।

मन्त्री पौडेलका अनुसार सरकारले मुस्ताङ–डोल्पा सडकखण्ड निर्माणलाई समेत उच्च प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको छ।मुक्तिनाथ क्षेत्रमा उच्च उचाइका कारण पर्यटकहरूमा देखिने ‘अल्टिच्युड सिकनेस’ को समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए। पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ‘टाइम कार्ड’ प्रणाली लागू गर्न सकिने सुझाव उनले दिएका छन्।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूले मुस्ताङको पर्यटन विकासका सम्भावना, पूर्वाधार विस्तार र विद्यमान समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट