एडीबी अध्यक्षसँग प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो ‘वान–अन–वान’ भेट, विदेशी प्रतिनिधिसँग पहिलो औपचारिक संवाद
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि पहिलो पटक कुनै विदेशी प्रतिनिधिसँग ‘वान–अन–वान’ भेटवार्ता गर्ने भएका छन्। एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मसातो कान्डासँग उनको एक्लाएक्लै भेट हुने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीका अनुसार आगामी मंगलबार बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाह र कान्डाबीच भेटवार्ता हुनेछ।एडीबी अध्यक्ष कान्डा सोमबार दिउँसो नेपाल आइपुग्ने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
अर्थमन्त्री वाग्लेसँग सोमबार दिउँसो ३ बजे हुने भेटपछि नेपाल र एडीबीबीच सहायता सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्ने कार्यसूची रहेको बताइएको छ। त्यसपछि अर्थमन्त्री वाग्लेले नक्सालस्थित मेरियट होटलमा कान्डाको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
मंगलबार बिहान प्रधानमन्त्री शाहसँग हुने वान–अन–वान बैठकपछि एडीबी अध्यक्ष कान्डा स्वदेश फर्कनेछन्।
प्रधानमन्त्री शाहले यसअघि नेपाल भ्रमणमा आएका विभिन्न विदेशी उच्च अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरेका थिएनन्। अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर, दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर तथा भारतीय विदेश सचिव विक्रम मिश्रीसँग पनि उनले भेट नगरेको चर्चा भएको थियो।विशेषगरी विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण अन्तिम समयमा रद्द हुनुमा प्रधानमन्त्रीसँग भेटको समय नपाउनु प्रमुख कारण रहेको बताइएको थियो।
प्रधानमन्त्री शाहले विदेश सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयलाई नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्दै आएका छन्। त्यसअनुसार राजनीतिक उद्देश्यका भ्रमणमा आएका विदेशी प्रतिनिधिसँग प्रत्यक्ष भेट गर्नुभन्दा मन्त्रालयमार्फत संवाद अघि बढाउने अभ्यास देखिएको छ।तर, यसपटक आर्थिक सहयोग र विकास साझेदारीसँग सम्बन्धित बहुपक्षीय संस्थाका प्रमुखसँग भेटवार्ता तय हुनुले सरकारले आर्थिक कूटनीति र विकास सहकार्यलाई उच्च प्राथमिकतामा राखेको संकेत गरेको विश्लेषण गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि एडीबीका अध्यक्षको यो पहिलो नेपाल भ्रमण हो। यसलाई नेपाल–एडीबी सहकार्य र विकास साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा समेत हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया