Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

नेपालका ठूला पूर्वाधार र जलविद्युतमा लगानी गर्न पूर्वअध्यक्ष कुल आचार्यको आह्वान


गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा तथा विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन्।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवर्द्धन सम्मेलनमा एक कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो आग्रह गरेका हुन्। आफू एनआरएनएको नेतृत्वमा रहँदा नेपालमा गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गर्न लामो संघर्ष गरेको स्मरण गर्दै आचार्यले पहिलो एनआरएन नागरिकता लिने अवसर आफैँले पाएको चर्चा गरे।उनले नागरिकताको कानुनी झन्झट अन्त्य भएसँगै अब सबैका लागि निर्धक्क भएर लगानी गर्ने वातावरण बनेको स्पष्ट पारे। चीन र भारतजस्ता दुई ठूला आर्थिक महाशक्ति एवं विशाल जनसंख्या भएका मुलुकहरूको बीचमा रहेकाले नेपालमा बजार र विकासको प्रचुर सम्भावना रहेको उनले प्रस्ट पारे।

आफ्नो व्यावसायिक यात्रा स्मरण गर्दै आचार्यले बेलायतमा सुरुवाती दिनमा संघर्ष गरेर ‘होली काउ’ व्यवसायमार्फत अहिलेको व्यावसायिक उचाइ हासिल गरेको अनुभव सुनाए।गैरआवासीय नेपालीहरूको सामूहिक लगानीलाई संस्थागत गर्न सन् २०१२ मा संयुक्त लगानीको अवधारणा अघि सारिएको र सोही पहलस्वरूप सन् २०१७ मा ‘एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी’ स्थापना भएको उनले जानकारी दिए।

सन् २०२० मा नेपालको सेयर बजार (नेप्से) मा सूचीकृत भएको उक्त कम्पनीले लगानीकर्ताहरूलाई राम्रो मुनाफा वितरण गरिरहेको बताउँदै उनले यसैमार्फत नेपालका विभिन्न जलविद्युत आयोजना र अन्य क्षेत्रमा तीव्र गतिमा काम भइरहेको उल्लेख गरे। नेपालमा सुरक्षित लगानी सुनिश्चित गर्न त्यहाँका स्थापित र विश्वसनीय व्यावसायिक घरानाहरूसँग रणनीतिक साझेदारी भइरहेको उनले बताए।यसै सिलसिलामा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपसँग मिलेर ‘हिमालय पावर पार्टनर’ लगायतका हाइड्रो प्रोजेक्टमा सहकार्य भइरहेको आचार्यले जानकारी दिए।

त्यसैगरी, रुसमा रहेका नेपाली उद्यमीहरूद्वारा स्थापित सानिमा ग्रुपसँग मिलेर विभिन्न हाइड्रो र बैंकहरूमा लगानी गरिएको तथा बेलायतका केही कम्पनीहरूले पनि नेपालमा लगानी विस्तार गरिरहेको उनले बताए।नेपालको पूर्वाधार र जलविद्युत क्षेत्रको अर्को ठूलो लगानीकर्ता ‘केसी ग्रुप’ सँगको सहकार्यबारे प्रकाश पार्दै उनले उक्त ग्रुपसँग मिलेर जलविद्युत, सर्भिस सेन्टर, पर्यटन, हस्पिटालिटी तथा अपार्टमेन्ट परियोजनाहरू सञ्चालन गर्न लागिएको बताए। उनले लगानीकर्ताहरूलाई सँगै बसेर छलफल गर्न र नेपालमा जलविद्युत तथा होटल लगायतका क्षेत्रमा थप लगानी गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको सन्देश दिए।

विभिन्न चुनौतीका बाबजुद बेलायत र अमेरिकाका गैरआवासीय नेपाली व्यवसायीहरूको संयुक्त साझेदारीमा भैरहवा (लुम्बिनी) मा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ लाई सफलतापूर्वक सञ्चालन गरिरहेको पनि आचार्यले उल्लेख गरे।

नेपालकै सबैभन्दा ठूलो क्यासिनो र आकर्षक स्विमिङ पुल भएको यस रिसोर्टमा हाल ११ सयभन्दा बढीले रोजगारी पाएको जानकारी उनले दिए।

नेपालमा उद्यमशीलता र लगानी प्रवर्द्धनका लागि अहोरात्र खटिने युवा अनुसन्धानकर्ता तथा नेपाली दूतावासका अधिकारीहरूलाई धन्यवाद दिँदै आचार्यले बेलायतमा रहेका नेपालीहरूलाई छिट्टै एउटा गोलमेच बैठक (राउन्ड टेबल) मा बसी बृहत् लगानीको प्रतिबद्धता जनाउन र मातृभूमिको आर्थिक रूपान्तरणमा साझेदार बन्न अपिल गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट