Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

मनसुन ढिलो सक्रिय हुँदा धान रोपाइँ सुस्त, देशभर २४.९ प्रतिशत मात्रै सम्पन्न


काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा मनसुन ढिलो सक्रिय हुनु र अपेक्षाअनुसार वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उल्लेखनीय रूपमा सुस्त देखिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १९ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको २४.९ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा धान रोपिएको मन्त्रालयले जनाएको छ।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रगति भएको छ। त्यहाँ कुल १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७४२ हेक्टर अर्थात् ५७.९२ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ।गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) तथा बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

कर्णाली प्रदेशमा कुल ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर अर्थात् २८.१५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा भने ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर अर्थात् २०.८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ।देशका प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेश र कोशी प्रदेशमा रोपाइँको गति अपेक्षाकृत कमजोर देखिएको छ। मधेश प्रदेशमा कुल ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर अर्थात् १५.६४ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ।त्यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ४२ हजार ३५७.९६ हेक्टर अर्थात् १५.३३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

कृषि विज्ञहरूका अनुसार मनसुनको अनियमितता र पर्याप्त वर्षा नहुनुले किसानलाई समयमै रोपाइँ गर्न कठिनाइ भएको छ। आगामी दिनमा वर्षा नियमित भए रोपाइँले गति लिन सक्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट