संविधान संशोधन कार्यदलले असारभित्र प्रतिवेदन बुझाउने
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम शाहले कार्यदलको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनसम्बन्धी मस्यौदा तयार पार्ने कार्य तीव्र रूपमा अघि बढिरहेको बताए।
‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ। असार मसान्तभित्र सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने हाम्रो योजना छ,’ शाहले भने।उनका अनुसार कार्यदलले संविधानविद्, सरोकारवाला निकाय तथा विभिन्न राजनीतिक दलसँग व्यापक छलफल गरिसकेको छ। बाँकी सुझावहरूलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको उनले बताए।
‘हामीले विभिन्न सरोकारवाला निकाय, संविधानविद् तथा राजनीतिक दलहरूसँग निरन्तर छलफल गरिरहेका छौँ। प्राप्त सुझाव र धारणालाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइँदैछ,’ उनले भने।संयोजक शाहले कार्यदल अहिले प्रतिवेदन लेखनको चरणमा प्रवेश गरिसकेको जानकारी दिँदै प्रतिवेदन तयार भएपछि त्यसबारे थप विवरण सार्वजनिक गरिने बताए।
‘अब हामी प्रतिवेदन लेखनको अन्तिम चरणमा छौँ। प्रतिवेदन तयार भएपछि त्यससम्बन्धी जानकारी सार्वजनिक गर्नेछौँ,’ उनले बताए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया