Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

स्वास्थ्यमन्त्री मेहता र गृहमन्त्री गुरुङले गरे बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले संयुक्त रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को अनुगमन गर्दै स्वास्थ्य सेवा, प्रशासनिक सुधार र पूर्वाधार विकासका विषयमा आवश्यक निर्देशन दिएका छन्।

अनुगमनका क्रममा मन्त्रीद्वयले प्रतिष्ठानमा प्रदान भइरहेको स्वास्थ्य सेवा, शैक्षिक वातावरण, भौतिक पूर्वाधार, प्रशासनिक सुशासन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा पदाधिकारीसँग विस्तृत छलफल गरेका थिए।

उनीहरूले प्रतिष्ठानमा लामो समयदेखि अभाव रहेको एमआरआई मेसिन खरिदका लागि मन्त्रालयबाट २५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिँदै खरिद प्रक्रिया अघि बढाइएको बताएका छन्। १३ वर्षदेखि एमआरआई सेवा विस्तार हुन नसकेको अवस्थालाई अन्त्य गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको उनीहरूको भनाइ थियो।मन्त्रीद्वयले लामो समयदेखि विवादमा रहेको एमसीएच भवन अझै सञ्चालनमा आउन नसकेकोप्रति पनि चासो व्यक्त गर्दै प्रतिष्ठानको समग्र सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।

अनुगमनपछि प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने, संस्थागत सुधारका लागि छुट्टै सुधार समिति (रिफर्म कमिटी) बनाउने, विद्यार्थीका लागि आधुनिक स्किल ल्याब र सुविधासम्पन्न पुस्तकालय विकास गर्ने तथा अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लबलाई पुनः अस्पतालकै स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

सरकारले प्रतिष्ठानको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन आवश्यक सुधारका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट