ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
काठमाडौं । ई–पेन्सनमा निजामती कर्मचारीहरूको आकर्षण देखिएको छ । राष्ट्रिय किताबखाना (निजामती) ले २०८२ फागुन ८ गतेबाट सुरु भएको ई–पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएका छन् ।
ई–पेन्सनका लागि अहिलेसम्म आवेदन दिएका मध्ये ४३३ जनाले सेवा प्राप्त गरिसकेका छन् । ८४ जना अझै सेवाको पर्खाइमा रहेका छन् ।
पछिल्लो समय सरकारी सेवाबाट राजीनामा दिने कर्मचारीहरूको सङ्ख्या बढेसँगै ई–पेन्सन आवेदनमा उच्च चाप देखिएकाले बाँकी रहेका सबै आवेदनहरूलाई फर्स्यौट गर्ने लक्ष्यका साथ किताबखानाले विशेष अभियान सञ्चालन गरेको छ ।
८४ वटै आवेदनलाई टुङ्ग्याएर ‘शून्य’ मा पुर्याउन अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत आइतबार सार्वजनिक विदा भए पनि निवृत्त कर्मचारीहरूको सुविधालाई मध्यनजर गर्दै किताबखाना खुला राखिएको छ ।
आइतबार ७ कर्मचारीको टोलीले आइतबार दिनभर खटिएर बाँकी रहेका सबै आवेदनहरूको फर्स्यौटको काम गरिरहेको छ । असार २५ गतेपछि कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट अवकाश पछिको सुविधा भुक्तानीमा प्राविधिक समस्या हुन सक्ने भएकाले विभिन्न जिल्लाबाट अनलाइन आवेदन गरी प्रतीक्षामा रहेका निवृत्त कर्मचारीहरूको विशेष अनुरोधलाई स्वीकार गर्दै विशेष सेवा अभियान सञ्चालन गरिएको किताबखानाले जनाएको छ ।
कुल निवृत्त कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढीले ई–पेन्सन सेवा रोज्न थालेका छन् । किताबखानाले प्रविधिको प्रयोगमार्फत सेवालाई थप पारदर्शी र छरितो बनाउँदै लगेको र आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिने जनाइएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया