Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

सीमा सुरक्षा र बाँहुण्डाँगीको हात्ती समस्या बुझ्न झापामा गृहमन्त्री गुरुङ, सुरक्षा निकायलाई निर्देशन


सुरुङ्गा (झापा)। गृहमन्त्री सुदन गुरुङ सीमा सुरक्षा व्यवस्थाको स्थलगत समीक्षा, सीमावर्ती क्षेत्रका चुनौतीको मूल्यांकन तथा जङ्गली हात्तीबाट प्रभावित बस्तीको अवस्था अवलोकन गर्न झापा भ्रमणमा रहेका छन्।

आइतबार राति झापा पुगेका मन्त्री गुरुङले सोमबार बिहान अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरेका छन्। छलफलमा जिल्लाको समग्र शान्ति–सुरक्षा, नेपाल–भारत सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य समसामयिक सुरक्षा चुनौतीका विषयमा समीक्षा गरिएको थियो।

बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उमेश पाण्डेलगायत सुरक्षा अधिकारी सहभागी थिए।छलफलपछि गृहमन्त्री गुरुङ मेचीनगर नगरपालिका–४ स्थित बाँहुण्डाँगीतर्फ प्रस्थान गरेका थिए। बाटोमै उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।त्यसपछि मन्त्री गुरुङले मेचीनगर–७ स्थित इट्टाभट्टामा रहेको सशस्त्र प्रहरी बलको जोरसिमल चेकपोष्टको निरीक्षण गर्दै सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन्।

भ्रमणका क्रममा उनले मेचीनगर–६ स्थित काँकरभिट्टा नाकाको सुरक्षा व्यवस्था, यात्रु जाँच प्रणाली तथा सीमा व्यवस्थापनको स्थलगत अवलोकन गरेका थिए। साथै मेची भन्सार कार्यालय पुगेर राजस्व सङ्कलन, भन्सार प्रशासन तथा सीमा नाकाबाट हुने आयात–निर्यात र आवतजावतको अवस्थाबारे जानकारी लिएका छन्।

गृहमन्त्री गुरुङले नेपाल–भारत सीमामा हुने चोरी–पैठारी, लागुऔषध कारोबार, मानव बेचबिखन तथा अन्य अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा निकायसँग समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिएका छन्।भ्रमणको अर्को प्रमुख उद्देश्य बाँहुण्डाँगी क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको जङ्गली हात्तीको समस्या पनि रहेको छ। मन्त्री गुरुङले हात्तीबाट प्रभावित बस्तीको निरीक्षण गर्नुका साथै स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर समस्या समाधानका सम्भावित उपायबारे सुझाव लिने कार्यक्रम तय भएको छ।गृहमन्त्रीको भ्रमणलाई लक्षित गर्दै झापामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार भ्रमण अवधिभर जिल्लाभरका सुरक्षा निकाय उच्च सतर्कतामा परिचालित रहेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट