‘अब रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै मुलुकको समृद्धिका लागि अब राजनीतिक आन्दोलनभन्दा श्रम, उत्पादन र काम गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताएका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको १०० दिनको कार्यसम्पादनमाथिको छलफलमा भाग लिँदै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले दिएको बलिदानको सम्मान गर्दै अहिलेको आवश्यकता उपलब्धिको संरक्षण र विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताए।उनले अब मुलुकमा हिंसा र द्वन्द्वको राजनीति होइन, श्रम र उत्पादनको संस्कृति स्थापित गर्नुपर्ने धारणा राखे।
“देशमा अब रगत होइन, पसिना बगाउनुपर्छ। व्यवस्था परिवर्तनले मात्र नागरिकको जीवन बदलिँदैन, काम गर्ने संस्कृतिको विकास हुनुपर्छ,” उनले भने।
साम्पाङले रोजगारी अभावका कारण युवाहरू ठूलो सङ्ख्यामा विदेशिन बाध्य भएको उल्लेख गर्दै स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारलाई आग्रह गरे। युवाले आफ्नै देशमा भविष्य देख्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।सीमावर्ती पूर्वाधार विकासको प्रसङ्ग उठाउँदै उनले दार्चुलाको टिङ्कर सडक निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए। सीमावर्ती क्षेत्रमा सडक विस्तार विकासको विषय मात्र नभई राष्ट्रिय सुरक्षा र राज्यको उपस्थितिसँग पनि जोडिएको उनले उल्लेख गरे।
सरकारको १०० दिनको कार्यकाललाई लिएर अत्यधिक आलोचना गर्नु उपयुक्त नहुने उनको धारणा थियो। दशकौँदेखि थुप्रिएका समस्या छोटो अवधिमा समाधान गर्न कठिन हुने स्वीकार गर्दै उनले प्रतिपक्षबाट आएका रचनात्मक सुझावलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन नहुने बताए। पुनःस्थापनाको सुनिश्चिततापछि मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सहकारी ठगी प्रकरणबारे बोल्दै उनले पीडितको रकम फिर्ता गर्ने क्रममा ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्तिबाट हालसम्म कति रकम असुल गरिएको छ भन्ने विवरण सरकारले सार्वजनिक गर्न माग गरे।उनले सुस्ता क्षेत्रका बासिन्दाको आन्दोलन, भूमि प्रमाणपत्र वितरण तथा सीमावर्ती क्षेत्रको विकासका विषयमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता पनि औँल्याए।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने माग गर्दै उनले प्रतिष्ठानको आर्थिक अवस्था सुधार गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए।विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको उल्लेख गर्दै साम्पाङले दुर्घटना भएपछि मात्र सक्रिय हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे। उनले चालकलाई कारबाही गर्नेभन्दा सुरक्षित सवारी सञ्चालनसम्बन्धी तालिमलाई प्राथमिकता दिन र विपद्को समयमा अपनाउनुपर्ने सावधानीबारे व्यापक जनचेतना अभियान सञ्चालन गर्न सरकारलाई सुझाव दिए।
साम्पाङले सरकारको १०० दिनका केही प्रयास सकारात्मक रहेको उल्लेख गर्दै जनताको सुझाव र आवश्यकतालाई समेटेर आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सरकारलाई आग्रह गरे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया