वीर अस्पतालको दृश्य हेरिसक्नु छैन, सरकारले ‘स्टन्ट’ बन्द गरोस्: एमाले सांसद ऐनबहादुर महर
काठमाडौं। नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले त्रिपुरेश्वर आत्मदाह प्रकरणका मृतक गणेश नेपालीको विषयलाई लिएर सरकारको कडा आलोचना गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले आफू भर्खरै वीर अस्पतालको प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा उपस्थित भएको जानकारी गराए। अस्पतालको दृश्य अत्यन्तै भावविह्वल र कारुणिक रहेको उल्लेख गर्दै उनले त्यहाँको परिस्थिति जो कोही सामान्य मानिसले हेरिसक्नु खालको नभएको बताए।
उपचारका क्रममा मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भइसकेको जानकारी दिँदै सांसद महरले घटनापछि राज्यले अपनाएको रवैयाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। मृतकका आफन्तजनहरूसँग बुझ्दा हिजोदेखि नै परिवारलाई समेत भेट्न नदिइएको र हालसम्म शव हस्तान्तरण नगरिएको भन्दै उनले आपत्ति जनाए।
अस्पताल परिसरमा प्रहरीले कडा सुरक्षा घेरा हालेर मृतकले मानौँ कुनै ठूलै अपराध गरेर आएको जस्तो गरी शव राखिएको भन्दै उनले यो अवस्था बडो दुःखद र विडम्बनापूर्ण रहेको टिप्पणी गरे।
सम्बोधनका क्रममा सांसद महरले सरकारलाई सस्तो लोकप्रियताका लागि ‘स्टन्ट’ गर्ने प्रवृत्ति तत्काल त्याग्न आग्रह गरे। हिजो राति गृहमन्त्री वीर अस्पताल पुगेर बसेको प्रसंग कोट्याउँदै उनले सरकारले यस्ता प्रचारमुखी कार्यहरू बन्द गर्नुपर्नेमा जोड दिए।
राज्यले नागरिकलाई आत्मदाह गर्ने विवशताबाट माथि उठाउनुपर्नेमा उल्टै सुकुम्बासीलगायतका सर्वसाधारणलाई चरम निराशा र पीडामा धकेलेर आत्मदाह गर्ने परिस्थिति जबर्जस्ती निर्माण गरिरहेको उनको आरोप थियो।
नागरिकले राज्यकै सामु यस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनु सम्पूर्ण राज्य संयन्त्रका लागि गम्भीर र चुनौतीपूर्ण विषय भएको उनले प्रस्ट पारे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया