Techie IT
KTM Post
शनिबार, ९ साउन, २०८३

स्वकीय सचिवको पारिश्रमिकमा चलखेल गरे कडा कारबाही गर्ने रास्वपाको चेतावनी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामाथि शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको छ। राज्यकोषबाट उपलब्ध हुने सुविधा जनताको करबाट प्राप्त हुने भएकाले यसको प्रयोगमा सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रदर्शन गर्नुपर्ने पार्टीको ठहर छ। सोहीअनुसार पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न सांसदहरूलाई कडा निर्देशन दिइएको छ।

नयाँ मार्गदर्शनअनुसार नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण (बायोडाटा) र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संघीय संसद् सचिवालय तथा पार्टीको केन्द्रीय कार्यालयमा समयमै दर्ता गराउनुपर्नेछ। साथै, सम्बन्धित सांसदले स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी त्यसको आवधिक प्रतिवेदन संसदीय दलसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। स्वकीय सचिवले पनि सांसदको कामकारбаही, पार्टीका आन्तरिक सूचना तथा संसद्का संवेदनशील विषयको गोपनीयता कडा रूपमा कायम राख्नुपर्नेछ।

रास्वपाले नातावादलाई प्रवर्द्धन गर्ने गरी नातेदारलाई स्वकीय सचिव नियुक्त गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा अन्य कुनै पनि आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर आचारसंहिता उल्लङ्घन मानेको छ।

त्यस्तो कसूर गरेमा पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कडा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ। त्यसैगरी, कार्यसम्पादन सन्तोषजनक नभएमा, पदीय आचरणविपरीत कार्य गरेमा वा गोपनीयता भङ्ग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराएर जुनसुकै बेला पदमुक्त गर्न सक्ने अधिकारसमेत दिइएको छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट