पुरानै शैलीमा प्रचण्ड : प्रशंसा धेरै, आत्मसमीक्षा कम
काठमाडौं । पुष्पकमल दाहालको आजको संसद् सम्बोधनले उनी अझै नेपाली राजनीतिका प्रभावशाली नेता हुन् भन्ने सन्देश त दियो तर भाषणमा नयाँपन भने खासै देखिएन । उनले वर्तमान सरकारको आलोचना गर्दै आर्थिक संकट लगायतका विषय त उठाए तर देश अहिलेको अवस्थामा पुग्नुमा आफू नेतृत्वमा रहेका सरकारहरूको पनि भूमिका रहेको विषयमा आत्मसमीक्षा गरेनन् ।
भाषणको धेरै हिस्सा आफ्नै उपलब्धिको चर्चा गर्नमै केन्द्रित थियो । शान्ति प्रक्रिया, संविधान निर्माण र आफ्ना सरकारका काम सम्झाउँदै उनले आफूलाई अझै निर्णायक राजनीतिक पात्रका रूपमा प्रस्तुत गर्न खोजे । तर अहिलेको पुस्ताले विगतको चर्चा भन्दा वर्तमान समस्याको समाधान खोजिरहेका बेला पुरानै उपलब्धिको पुनरावृत्तिले खास प्रभाव पार्न सकेन ।
समानुपातिक र समावेशी व्यवस्थाको कुरा गर्दा पनि आफ्नै पार्टीभित्र परिवारवाद र अवसरमा भएकाे सिण्डिकेटको आरोपबारे उनले कुनै आत्मस्वीकृति गरेनन् । पार्टीभित्र उठिरहेकाे भ्रष्टाचार, सुनकाण्ड र तस्करीबारे बाहिर उठिरहेका प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिन चाहेनन् ।
उनको भाषणमा कूटनीतिक चेतावनीको संकेत देखिन्थ्यो । उनले सत्ता सधैं एकै ठाउँमा नबस्ने सन्देश दिन खोजे ।
मानौं उनले “आज तिमीहरूको समय हो, भोलि परिस्थिति बदलिन सक्छ” भन्ने संकेत गरेका थिए । यो उनको लामो राजनीतिक अनुभवबाट विकसित शैली पनि हो ।
भाषणमा आत्मविश्वास, संसदीय भाषामाथिको पकड र व्यंग्यात्मक प्रहार देखिए । तर आत्मालोचनाको अभाव उत्तिकै स्पष्ट रह्यो । पुराना दल र नेताप्रति बढ्दो असन्तुष्टिको एउटा कारण पनि यही कमजोरी स्वीकार नगर्ने प्रवृत्ति हो ।
समग्रमा, भाषणले प्रचण्ड अझै सक्रिय र प्रभावशाली नेता रहेको भनेदेखायो । तर यसले नयाँ सोच, नयाँ दिशा वा जनतामा नयाँ आशा भने जगाउन सकेन । भाषणमा उनमा कताकता असहजता, त्रास र दबाब मिश्रित भाव पनि अनुभूति हुन्थ्यो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया