Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले भाषा, साहित्य र संस्कृति नेपाली समाजको मौलिक पहिचान र राष्ट्रिय गौरव भएको बताएका छन्।

शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठ को ११५औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने प्रभावकारी माध्यम भएको उल्लेख गरे।

उनले साहित्यले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक रूपान्तरण, देशप्रेम र सामाजिक न्यायको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। “साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सामर्थ्य राख्छ,” राष्ट्रपति पौडेलको भनाइ थियो।

राष्ट्रपति पौडेलले युगकवि सिद्धिचरण श्रेष्ठको नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाको विकासमा रहेको योगदानको स्मरण गर्दै उनलाई केवल ऐतिहासिक कवि नभई चेतना, साहस, सिर्जनशीलता र राष्ट्रप्रेमका प्रेरणास्रोतका रूपमा बुझ्नुपर्नेमा जोड दिए।

उनका अनुसार श्रेष्ठले आफ्नो समयको सामाजिक चेतना र परिवर्तनको आकांक्षालाई साहित्यमार्फत सशक्त रूपमा अभिव्यक्त गरेका थिए। कठिन राजनीतिक र सामाजिक परिस्थितिमा समेत उनले स्वतन्त्रता, न्याय, मानवता र राष्ट्रिय स्वाभिमानका पक्षमा लेखनमार्फत आवाज उठाएको राष्ट्रपति पौडेलले स्मरण गरे।

उनले कारावासको कठोर अनुभव र व्यक्तिगत पीडाबीच पनि साहित्यप्रतिको निष्ठा नत्यागेको उदाहरण उल्लेख गर्दै श्रेष्ठको जीवन संघर्षपूर्ण र प्रेरणादायी रहेको बताए।

कार्यक्रममा राष्ट्रपति पौडेलले युगकवि श्रेष्ठको कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको गहिरो प्रेमलाई नेपाली साहित्यमा अमिट रूपमा स्थापित गरेको धारणा राखे। कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिएको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट