जेनजी आन्दोलनमा भएको दमनलाई बिर्सिए भविष्यमा ठूलो मूल्य चुकाउनुपर्छ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले दिएको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै सभापति थापाले मानवअधिकार उल्लंघनका विषयलाई राजनीतिक स्वार्थका आधारमा कमजोर बनाउन नहुने बताएका हुन्। उनले यस्ता घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्नेमा जोड दिए।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनापछि आफ्नै पार्टीका नेता तथा कार्यकर्तामाथि समेत कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै थापाले कांग्रेसले यस विषयमा कुनै पक्षपात नगर्ने स्पष्ट पारे। आयोगको प्रतिवेदन कार्यान्वयनका लागि पार्टीले निरन्तर रूपमा सरकारलाई दबाब दिइरहने उनको भनाइ थियो।
“राज्य संयन्त्रबाट भएको दमन र योजनाबद्ध हिंसाका घटनालाई बेवास्ता गरियो भने त्यसको असर दीर्घकालीन रूपमा मुलुकले भोग्नुपर्ने हुन्छ,” थापाको भनाइ उद्धृत गर्दै कांग्रेसले जनाएको छ।
सभापति थापाले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस ढिलो वा चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै सत्य र न्यायको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने बताए।
उनले मानवअधिकार आयोगको प्रतिवेदन निर्वाचनअघि सार्वजनिक नगरिएको विषयमा समेत प्रश्न उठाए। साथै, जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन र त्यसको कार्यान्वयनका सन्दर्भमा सरकारले पूर्वाग्रही व्यवहार देखाएको आरोप पनि लगाए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया