Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

बजेटले दशकौँदेखिका समस्या एकै पटक समाधान गर्छ भन्नु गलत अपेक्षा हो : अर्थमन्त्री वाग्ले


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा नीति संवाद कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले दशकौँदेखिका समस्या एकै पटक समाधान गर्छ भन्नु गलत अपेक्षा रहेको बताए ।

उनका अनुसार नीति निर्माता र सर्वसाधारणमा बजेटप्रति उच्च अपेक्षा हुनु स्वाभाविक भए पनि वर्तमान आर्थिक यथार्थलाई ध्यानमा राखेर मूल्याङ्कन गर्न आवश्यक छ। राज्यले सेना, प्रहरी, स्वास्थ्यलगायत आधारभूत तथा संवेदनशील क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने भएकाले बजेटको ठूलो हिस्सा त्यस्ता क्षेत्रमा खर्च हुने बाध्यता रहेको उनले बताए।

बजेट तथा कर नीतिबारे बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले करको बोझ घटाउने प्रतिबद्धताअनुसार काम अघि बढाएको जानकारी दिए। बजारमा सुस्ती कायम रहेको र आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारण तथा मध्यम वर्गलाई राहत दिन आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको उनले बताए।

उनले सरकारको प्राथमिकता करको दर बढाउनु नभई करको दायरा विस्तार गर्नु रहेको उल्लेख गरे। साथै, अर्थतन्त्रलाई बलियो बनाउने केही सुधारात्मक कार्यक्रम आगामी वर्षहरूमा क्रमिक रूपमा कार्यान्वयन गरिने बताए।

राजस्व संकलनतर्फ सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब रुपैयाँको प्रारम्भिक लक्ष्य निर्धारण गरेको भए पनि १५ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने क्षमता र लक्ष्य रहेको अर्थमन्त्रीको भनाइ थियो। संघीय संरचनाअनुसार संकलित राजस्वको ठूलो हिस्सा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने दायित्वसमेत रहेको उनले स्मरण गराए।

अर्थमन्त्री वाग्लेले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडीपी), वैदेशिक सहायता, ऋण र उपलब्ध कर आधारलाई हेर्दा वर्तमान बजेटको आकार अपेक्षाकृत सानो रहेको बताए। सीमित स्रोत र साधनका बाबजुद उपलब्ध बजेटलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्दै आर्थिक शिथिलता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट