सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीमाथि हप्कीदप्की गरेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे सरकार स्पष्ट हुनुपर्ने बताए। प्रधानमन्त्री बैठकमा उपस्थित नभएको उल्लेख गर्दै उनले रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरे।
“प्रधानमन्त्रीज्यू आउनुहुन्न, अब रक्षामन्त्रीलाई बोलाइदिनुपर्यो। सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो, हामी केही प्रश्न सोध्न चाहन्छौं,” उनले भने।
राईले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सदस्यहरूले नेपाली नागरिकमाथि दुर्व्यवहार गरेको भन्दै त्यससम्बन्धी भिडियो सार्वजनिक भएको दाबी गरे। उनका अनुसार स्थानीय नेपाली नागरिकहरू आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत देखिएका छन्।
सांसद राईले सीमा क्षेत्रमा नेपाली सेना परिचालन गर्न नसकिएको कारणबारे पनि सरकारसँग जवाफ माग्दै सीमासम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया