Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

मलमासले रोकियो धवल शम्शेर र दुर्गा प्रसाईंको पार्टी घोषणा कार्यक्रम


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवलशम्शेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्। दुवै नेताले राष्ट्रवादी र प्रजातान्त्रिक विचारधारामा आधारित नयाँ शक्ति निर्माण गर्ने उद्देश्यसहित गृहकार्य अघि बढाएका हुन्।

राप्रपाका पूर्व महामन्त्री समेत रहेका राणाले पार्टी त्याग गरेपछि आफ्ना समर्थक नेता–कार्यकर्तालाई नयाँ अभियानमा आबद्ध गराउने प्रयास तीव्र बनाएका छन्। उनी निकट स्रोतका अनुसार राप्रपाका विभिन्न तहका सयौं नेता–कार्यकर्ता नयाँ राजनीतिक अभियानमा जोडिने तयारीमा छन्।

गत जेठ २२ गते राणा र प्रसाईंबीच नयाँ पार्टी गठनका विषयमा सहमति भएको बताइएको छ। सोही सहमतिपछि प्रसाईंले नेतृत्व गर्दै आएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानलाई औपचारिक रूपमा अन्त्य गरी प्रत्यक्ष पार्टी राजनीतिमा सक्रिय हुने निर्णय गरेका छन्।

दुवै नेता हाल ‘प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियान’ अन्तर्गत देशभर संगठन विस्तार र राजनीतिक आधार निर्माणमा केन्द्रित छन्। उनीहरूको भनाइमा मुलुकमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता महसुस भएकाले त्यसको परिपूर्ति गर्न नयाँ दल गठन गर्न लागिएको हो।

राणाका अनुसार प्रस्तावित पार्टीले संवैधानिक राजसंस्था, सनातन धर्म, राष्ट्रिय एकता र प्रजातान्त्रिक मूल्य–मान्यतालाई आफ्नो प्रमुख वैचारिक आधार बनाउनेछ। उनले नयाँ दललाई आम नागरिकको सहभागिता र समर्थनमा आधारित जनमुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्।

पार्टीको नाम, चुनाव चिह्न, विधान तथा सांगठनिक संरचनासम्बन्धी विषयमा आन्तरिक छलफल जारी रहेको र छिट्टै औपचारिक घोषणा गरिने तयारी भइरहेको राणाले जानकारी दिएका छन्।

उनका अनुसार हाल अधिकमास (मलमास) चलिरहेकाले पार्टी घोषणा केही समयका लागि स्थगित गरिएको हो। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मलमासमा शुभ कार्य नगर्ने परम्परा रहेकाले अधिकमास समाप्त भएपछि पार्टी सार्वजनिक गरिने तयारी छ।

राणा र प्रसाईं दुवै राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेर उभिँदै आएका नेताहरू हुन्। गत चैत १५ गते काठमाडौंमा आयोजित राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनमा पनि उनीहरू एउटै मोर्चामा सक्रिय थिए। त्यसबेला नवराज सुवेदीको संयोजकत्वमा गठित आन्दोलन समितिमा प्रसाईं कमान्डर तथा राणा आन्दोलन परिचालन समितिका संयोजक थिए।

राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन विद्यमान राजनीतिक संरचनाभित्र पर्याप्त सहयोग नपाएको निष्कर्षमा पुगेपछि उनीहरूले नयाँ राजनीतिक विकल्प निर्माणको पहल थालेको निकटस्थहरूको भनाइ छ।

नयाँ दलको औपचारिक घोषणासँगै नेपालको राष्ट्रवादी तथा राजावादी राजनीतिक धारमा नयाँ समीकरण बन्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चासो बढेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट