Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

गोविन्दबहादुर बटालाले गरे सर्वोच्च समक्ष आत्मसमर्पण


काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

उनलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा १० वर्ष कैद सजाय ठहर भएको थियो । बटालाले बुधबार ९असार ३० दिउँसो सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका हुन् ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बटालाले आत्मसमर्पण गरेको जानकारी बाह्रखरीलाई दिए । ‘आज दिउँसो आउनुभएको थियो । आत्मसमर्पण गरेपछि प्रहरीको जिम्मा लगाएर कारागार पठाइएको छ,’ प्रवक्ता कोइरालाले भने ।

गत जेठ २८ गते सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले सरकारको पुनरावलोकनमा पूर्व फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेको थियो ।

तत्कालीन न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्मा ९हाल प्रधानन्यायाधीश० संलग्न पूर्ण इजलासले सफाइको फैसलामा पुनरवलोकनको अनुमति दिएको थियो ।

बटाला तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका ब्रिगेड कमान्डर थिए । तत्कालीन सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले व्यापारी श्रेष्ठको हत्यामा बटलाको संलग्नता नदेखिने भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

२०६५ साल वैशाख १५ गते कोटेश्वरबाट नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो । शिविरमा कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव नारायणी नदी किनारमा फेला परेको थियो । बटालाले प्रहरीसँगको बयानमा श्रेष्ठलाई गाडीमा राखेर ल्याउने काममा आफू संलग्न रहेको स्वीकार गरेका थिए ।

तहतह हुँदै सर्वोच्चमा आएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले बटालालाई सफाइ दिने गरी २०७६ साल फागुन १८ गते सफाइ दिएको थियो । बटालाको सफाइप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले पुनरावलोकन निवेदन दियो ।

बटालाले आत्मसमर्पण गरेपछि कानुन अनुरुप सजायमा छुट पाउने छन् । कानुनतः फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा हुने प्रावधान छ । बटालाको स्थायी घर कालिकोटको माल्कोट रहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट