Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्ले: “मेरो आफ्नै पहिचान छ, केवल प्रधानमन्त्रीकी पत्नी मात्र होइन”


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) की पत्नी सविना काफ्लेले आफूलाई केवल प्रधानमन्त्रीकी पत्नीका रूपमा नभई स्वतन्त्र, सक्रिय र जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न चाहेको बताएकी छन्।

सार्वजनिक स्वास्थ्य क्षेत्रकी विज्ञ, लेखिका तथा सामाजिक अभियन्ताका रूपमा परिचित काफ्लेले आफ्नो जीवनयात्रा, परिवार, प्रेम, राजनीति र समाजप्रतिको दृष्टिकोणबारे खुलेर धारणा व्यक्त गरेकी हुन्।

मोरङको उर्लाबारीमा जन्मिएकी काफ्ले बाल्यकालमै परिवारसँग काठमाडौं आएकी थिइन्। मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले बाल्यकालदेखि नै सेवाभाव, सामाजिक उत्तरदायित्व र सरल जीवनशैली आत्मसात् गरेको बताइन्। हजुरबा–हजुरआमाको संस्कार र माया आफ्नो व्यक्तित्व निर्माणमा महत्वपूर्ण रहेको उनको भनाइ छ।

भीएस निकेतनमा अध्ययनका क्रममा उनी र बीच चिनजान भएको थियो। मित्रताबाट सुरु भएको सम्बन्ध पछि प्रेममा परिणत भई दुवै परिवारको सहमतिमा विवाह भएको उनले स्मरण गरिन्।

काफ्लेका अनुसार बालेन शाह सानैदेखि समाजका लागि केही गर्ने दृढ सोच र सेवाभाव भएका व्यक्ति हुन्, जसकै कारण उनी राजनीतिमा प्रवेश गरेका हुन्। राजनीतिमा प्रवेशपछि विभिन्न प्रतिक्रिया आए पनि आफूहरू आत्मविश्वासका साथ अघि बढिरहेको उनले बताइन्।

उनले बालेनलाई सरल, स्पष्टवक्ता, एकान्तप्रिय र सेवाभावी व्यक्तिका रूपमा चित्रण गर्दै बाहिर बनेका धेरै धारणा वास्तविकताभन्दा फरक रहेको उल्लेख गरिन्। परिवारभित्र भने उनी रमाइलो वातावरण बनाउने, छोरीसँग समय बिताउने र सहज स्वभावका व्यक्ति रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीको भूमिकामा रहेकाले बालेन शाहको सञ्चार र संवाद शैलीबारे पनि उनले टिप्पणी गर्दै अझ बढी संवाद गर्न सके शासन प्रभावकारी हुने धारणा राखिन्। सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र विकासका एजेन्डामा सफल हुनुपर्ने आवश्यकता उनले औँल्याइन्।

महिलाको सशक्तीकरणबारे बोल्दै काफ्लेले आर्थिक आत्मनिर्भरतालाई मुख्य आधार मानेकी छन्। शिक्षा मात्र पर्याप्त नभएको भन्दै आर्थिक रूपमा सक्षम महिला नै निर्णय गर्न सक्ने र आत्मविश्वासी बन्ने उनको भनाइ छ। साथै छोरा–छोरीलाई समान अवसर र व्यवहार दिनुपर्नेमा पनि उनले जोड दिएकी छन्।

उनका अनुसार नेपालमा नयाँ पुस्ताको राजनीतिक सहभागिता बढ्दै गएको छ र युवाहरू नेतृत्व लिन सक्षम भइसकेका छन्। पुराना नेताहरूले मार्गदर्शक भूमिका निर्वाह गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय आएको उनको धारणा छ।

प्रधानमन्त्रीकी पत्नीको परिचयभन्दा बाहिर आफ्नै पहिचान स्थापित गर्न चाहने काफ्लेले सेवा, सरलता, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वलाई जीवनको मूल मन्त्र बनाएको बताएकी छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट