संसदीय समितिमा हाजिरी अनिवार्य, लगातार ५ बैठक छाडे कारबाहीमा पर्न सक्ने
काठमाडौं । संसदीय समितिका पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सांसद कारबाहीमा पर्न सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले यस्तो प्रावधानसहितको कार्यविधि बनाएको हो । विगतमा पनि यस्तो प्रावधान थियो । विगतको प्रावधानलाई समेत निरन्तरता दिएर संसदीय समितिले आफ्नो कार्यविधि तय गरेको हो ।
समितिले तय गरेको कार्यविधिको बुँदा नम्बर ४ मा उपस्थितिसम्बन्धी विषय छ । जसअनुसार समितिको बैठकमा उपस्थित सदस्यले वर्णानुक्रमअनुसार बैठक कक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा आफ्नो उपस्थिति जनाउनु पर्नेछ ।
बैठकमा अनुपस्थित रहने सदस्यले सभापतिलाई कुनै माध्यमबाट जानकारी दिनु पर्नेछ । लगातार पाँच वटासम्म बैठकमा अनुपस्थित रहने सदस्यले सभापति समक्ष अनुपस्थितिको कारणसहितको लिखित निवेदन विद्युतीय माध्यम वा अन्य कुनै माध्यमबाट पेस गर्नु पर्नेछ ।
सभापतिलाई लिखित जानकारी गराई बैठकमा अनुपस्थित रहने सदस्यको भने हाजिरी पुस्तिकामा नामको पछाडि उपस्थित हुन नसक्ने बेहोराको निवेदन प्राप्त भन्ने बेहोरा उल्लेख गरिनेछ ।
बैठकको एजेण्डा भने एक दिन अगावै सदस्यहरूलाई दिने भनिएको छ । कार्यविधिको बुँदा नम्बर ३ मा बैठकको कार्यसूचीसम्बन्धी व्यवस्था छ । जसअनुसार समितिको बैठकको कार्यसूची सभापतिको सल्लाह र निर्देशनमा समिति सचिवले तयार गर्नेछ ।
तर समितिको बैठक आकस्मिक रूपमा बस्नुपरेमा वा एकै दिनमा एकभन्दा बढी बैठक बस्नुपरेमा त्यस्तो बैठकको कार्यसूची बैठक बस्नुभन्दा सामान्यतया कम्तीमा आधा घण्टाअघि जानकारी गराए पनि हुने प्रावधान राखिएको छ ।
कुनै बैठकको अन्त्यमा अर्को बैठक बस्ने मिति, समय र स्थान जानकारी गराउने अवस्था नभई बैठक अन्त्य भएमा अर्को बैठक बस्ने सूचना समिति सचिवालयबाट लिखित रूपमा पत्राचार वा टेलिफोन वा इमेल वा एसएमएस वा अन्य विद्युतीय माध्यमबाट र संद्दीय संसद् सचिवालयको सूचना पाटीमा सूचना टाँसेर दिइनेछ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया