Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

एमआरपीभन्दा महँगो आइसक्रिम बेच्दा काठमाडौंको चर्चित व्यवसायीलाई २ लाख जरिवाना


काठमाडौं । उपभोक्तासँग एमआरपीभन्दा बढी मूल्य असुलेको आरोपमा काठमाडौंस्थित काइजर क्याफे (बसेरा बुटिक होटल) लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

बजार अनुगमनका क्रममा क्याफेले आइसक्रिममा छापिएको अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढी रकम लिएको भेटिएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। विभागले यस्तो कार्यलाई उपभोक्तामाथिको ठगी तथा अनुचित व्यापारिक गतिविधिका रूपमा व्याख्या गरेको छ।

सोही अनुगमन अभियानमा १९ वटा व्यवसायको निरीक्षण गरिएको थियो। तीमध्ये ३ व्यवसायलाई जरिवाना गरिएको छ भने १६ व्यवसायलाई नियम पालना गर्न चेतावनी र निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले उपभोक्तालाई ठगी गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै बजार अनुगमनलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट