तीन विश्वविद्यालयमा उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
काठमाडौं। देशका विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ। पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आइतबारदेखि सुरु भएको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यतालिका अनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको मूल्यांकन प्रक्रिया समानान्तर रूपमा अघि बढाइएको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले प्रक्रिया सञ्चालन गरिएको हो।
मन्त्रालयले छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ बनाउने दाबी गरेको छ। प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको जनाइएको छ।मूल्यांकन प्रक्रियालाई प्रभावकारी बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानल गठन गरिएको छ। यससम्बन्धी विस्तृत कार्यतालिका मन्त्रालयले यसअघि नै सार्वजनिक गरिसकेको छ।
यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भएको थियो।पूर्वनिर्धारित तालिकाअनुसार सोमबार पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण कार्यक्रम सञ्चालन हुने जनाइएको छ।यससँगै देशका आठवटै विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया निर्धारित समयभित्रै टुंगो लाग्ने अपेक्षा गरिएको छ। यसले उच्च शिक्षामा सक्षम नेतृत्व, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया