२५ वर्ष पुराना वैदेशिक रोजगार ठगीका फाइल डिजिटल प्रणालीमा लैजाने काम तीव्र
काठमाडौं। वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागको गोदाममा थन्किएर रहेका हजारौं पुराना मुद्दा तथा अनुसन्धानका फाइलहरू खोजी गरी डिजिटल प्रणालीमा लैजाने काम तीव्र पारिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको पहलमा वैदेशिक रोजगार विभागले लामो समयदेखि व्यवस्थापन हुन नसकेका उजुरी र अनुसन्धानसम्बन्धी कागजातलाई व्यवस्थित गर्ने अभियान अघि बढाएको हो।
वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन लागू भएपछि श्रम प्रशासनअन्तर्गत वैदेशिक रोजगारीसम्बन्धी उजुरी दर्ता हुन थालेका थिए। त्यसपछि वि.सं. २०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगार ठगीका उजुरी तथा अनुसन्धान प्रक्रिया संस्थागत रूपमा अघि बढ्न थालेका थिए।
वि.सं. २०६४ सालमा छुट्टै वैदेशिक रोजगार विभाग स्थापना भएपछि मुद्दा तथा अनुसन्धानलाई विभागको प्रमुख जिम्मेवारीका रूपमा अघि बढाइएको थियो। तर, पुराना फाइलहरूको व्यवस्थापन र अभिलेखीकरण प्रभावकारी रूपमा हुन नसक्दा हजारौं कागजात गोदाममै थन्किएका थिए।विभागले हाल वि.सं. २०५७ सालदेखिका महत्वपूर्ण मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइलहरू पहिचान गरी वर्षअनुसार वर्गीकरण गर्ने र सुरक्षित रूपमा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको जनाएको छ।
भौतिक रूपमा सुरक्षित गरिएका ती कागजातहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार पार्ने काम अहिले जारी रहेको छ। विभागले आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन छुट्टै डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारीसमेत गरेको छ।
उक्त प्रणाली सञ्चालनमा आएपछि वि.सं. २०५७ सालदेखि उपलब्ध सबै फाइलहरूको विवरण डिजिटल अभिलेखमा समावेश हुने र मुद्दा व्यवस्थापन तथा न्याय सम्पादन प्रक्रिया थप सहज बन्ने अपेक्षा गरिएको छ।
विभागको यो पहलले लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगी पीडितहरूका गुनासा सम्बोधन गर्न तथा पुराना मुद्दाको टुंगो लगाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया