Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

सिलिचोङमा पहिरो, ७ परिवार विस्थापित


संखुवासभा । लगातारको वर्षापछि आएको बाढीपहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङ क्षेत्रका सात परिवार विस्थापित भएका छन्। बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्युत्, सञ्चार र यातायात सेवा समेत अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण तल्लो तेन्छोङका सात परिवार घर छाड्न बाध्य भएका हुन्। प्रभावित परिवारमा कुन्ती राईको पाँच सदस्यीय, धनपूर्ण राईको सात सदस्यीय, मंगलबहादुर राईको छ सदस्यीय, सुकप्रसाद राईको चार सदस्यीय, मिरा राईको पाँच सदस्यीय, धनमान राईको तीन सदस्यीय तथा अरुणसंगम राईको परिवार रहेका छन्।

गाउँपालिकाको समन्वय र सिसुवा प्रहरी चौकीको सहयोगमा सबै परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घटनापछि सोमबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली प्रभावित क्षेत्रमा खटिएको प्रहरीले जनाएको छ। टोलीले क्षतिको विवरण संकलन र थप अनुगमन गरिरहेको छ।

यसैबीच, सिलिचोङ गाउँपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै पहिरोको जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार बाढीपहिरोका कारण विद्युत्, इन्टरनेट, टेलिफोन तथा यातायात सेवा प्रभावित भएका छन्। सिलिचोङ–१ सिसुवाखोलामा आएको बाढीले दुई विद्यालयमा क्षति पुर्‍याएपछि पठनपाठन पूर्ण रूपमा रोकिएको उनले जानकारी दिए।

बाढीपहिरोका कारण गाउँपालिका केन्द्र जोड्ने सडक अवरुद्ध भएको छ भने केन्द्रीय विद्युत् लाइन, माइक्रोहाइड्रो आयोजना तथा सञ्चार सेवामा समेत ठूलो असर परेको छ। गाउँपालिकाभित्रका अधिकांश सडक र गोरेटो बाटो सञ्चालनमा आउन सकेका छैनन्।

अध्यक्ष मेवाहाङका अनुसार बाढीले दुई वटा स्थानीय माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षति पुगेका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बनेको छ।

पहिरोले सिलिचोङ–१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयमा समेत क्षति पुर्‍याएको छ। विद्यालयका १५ वटा कक्षाकोठामा चिरा परेको छ भने शैक्षिक सामग्री पनि नष्ट भएका छन्। यस्तै, सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ।

दुवै विद्यालय उच्च जोखिममा परेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष मेवाहाङको भनाइ छ। हाल दुवै विद्यालयमा पठनपाठन स्थगित गरिएको छ।

गाउँपालिकाले प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल सहयोगको माग गरेको छ। अध्यक्ष मेवाहाङका अनुसार तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायतका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्।

निरन्तर वर्षा भइरहेका कारण स्थानीयवासी सुरक्षित स्थानमा सामूहिक रूपमा बसिरहेका छन्। स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध हुँदा राहत तथा उद्धार कार्यमा चुनौती थपिएको गाउँपालिकाले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट