Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

काठमाडौंमा ‘नमस्ते सेवा अभियान’ सुरु


काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिक र महानगर प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ।

वसन्तपुरबाट आज शुभारम्भ गरिएको अभियानको उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरीलाई नागरिकप्रति सरल, नम्र र सेवामुखी बन्न तथा कानुन कार्यान्वयनमा दृढता देखाउन निर्देशन दिइन्।

उनले जिम्मेवारीप्रतिको इमान्दारिता र जनमैत्री व्यवहारले मात्र प्रभावकारी सहरी व्यवस्थापन सम्भव हुने बताउँदै नागरिकले ‘मेरो प्रहरी’ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

डंगोलले महानगर प्रहरी बललाई सेवामूलक, जनउत्तरदायी, सक्षम र गुणस्तरीय ढंगले दायित्व निर्वाह गर्दै आफ्नो क्षमता नागरिक सेवामा केन्द्रित गर्न आग्रह गरिन्।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले अभियानले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सकारात्मक दिशातर्फ लैजाने विश्वास व्यक्त गरे। उनले महानगर प्रहरीको यस पहलले जनविश्वास अभिवृद्धिमा सहयोग पुग्ने बताए।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले अभियानमार्फत नागरिकसँगको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्य रहेको जानकारी दिए। उनका अनुसार अभियानका क्रममा नागरिकलाई उनीहरूको अधिकार र दायित्वबारे समेत सचेत गराइनेछ।सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा नागरिक र प्रहरीबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै महानगरको पहललाई सकारात्मक कदमका रूपमा व्याख्या गरे।

हाल काठमाडौं महानगर प्रहरी बलले ट्राफिक व्यवस्थापन, फोहोर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा, सरसफाइ तथा वातावरणीय सुधारलगायत क्षेत्रमा कार्य गर्दै आएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट