बाढी र डुबानको उच्च जोखिममा झापा: जिल्ला प्रशासन र रेडक्रसद्वारा उच्च सतर्कतासहित पूर्वतयारी तीव्र
झापा । पूर्वी तराईसहित देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय झापाले बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनामा मनसुनी गतिविधि तीव्र बन्दै गएको र मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपासको क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानको पूर्वपहिचान गर्न तथा स्थानीय निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ।
झापाका कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र बर्सेनि बाढीबाट प्रभावित हुँदै आएका छन्। विशेषगरी गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको छ।संभावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहका संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। आवश्यक राहत सामग्रीको व्यवस्थासमेत मिलाइएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। बाढीलाई जिल्लाको प्रमुख प्राकृतिक विपद्का रूपमा राखेर सम्बन्धित निकायबीच निरन्तर समन्वय भइरहेको उनले बताए।
नेपाल रेडक्रस सोसाइटी झापाले पनि बाढी प्रभावित हुन सक्ने तल्लो तटीय क्षेत्रमा विशेष पूर्वतयारी गरेको जनाएको छ। रेडक्रसका सभापति लोकराज ढकालका अनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको उच्च जोखिममा रहेका छन्।विपद्को अवस्थामा तत्काल उद्धार र राहत उपलब्ध गराउन १२० भन्दा बढी स्वयंसेवक तथा प्राथमिक उपचार टोली तयारी अवस्थामा राखिएको छ। जिल्लाका विभिन्न सात स्थानमा खाद्यान्न र अन्य आवश्यक राहत सामग्री भण्डारण गरिएको रेडक्रसले जनाएको छ।
यसैबीच, समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको सहकार्यमा विशेष तालिमसमेत सञ्चालन गरिएको छ।
असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० जना नगर प्रहरीलाई विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी प्रशिक्षण दिइएको छ। स्थानीय तहमा तत्काल उद्धार टोली परिचालन गर्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया